मनोरञ्जन

वार्मअप म्याचमा नेपालद्वारा ओमान दुई विकेटले पराजित

जिम्बावे, हरारे । नेपालले ओमानविरुद्धको वार्मअप म्याचमा दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । नेपालको जितमा ओपनर कुशल भुर्तेलको शतक, मध्यक्रमका भीम सार्कीको अर्धशतक र सिमर सोमपाल कामीको पाँच विकेटले खेल नेपालको पक्षमा रह्यो ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९.२ ओभरमा दुई सय ६७ रनमा अलआउट भएको थियो । २ सय ६८ रनको विजयी लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर कुशलले ९४ बलमा एक सय एक रन बनाए । ३१औँ ओभरमा रिटायर्ट आउट हुनुअघि उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि कुशल र भीमबीच एक सय १५ रनको शतकीय साझेदारी भएको थियो । भीमले ७४ बलमा ९ चौका हान्दै ५६ रनको योगदान दिए ।

आजको खेलमा नेपाली ओपननर कुशल र आसिफ शेखले ७१ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २६, आसिफले २३ तथा कुशल मल्लले १७ रनको योगदान दिए । स्पिनर सन्दीपल लामिछानेले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । एक समय ६.२ ओभरमा सात रन मात्र बनाउँदा चार विकेट गुमाइसकेको दयनीय अवस्थाबाट ओमानले खेलमा जबरजस्त पूनरागमन गरेको थियो । ओमानलाई सानदार पूनरागमन गराउन कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।