काठमाडौँ । चावहिल गणेशस्थान चौरमा आजदेखि दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल खेल सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ ले आयोजना गरेको प्रतियोगितालाई चावहिल स्पोटस क्लब र चारुमती युवा क्लवले प्राविधिक सहयोग गरेका छन् । चावहिल भेट्रान र कपन भेट्रानबिच पहिलो खेल भएको हो ।
खेल सुरु गर्दै वडा ७ का अध्यक्ष बिमलकुमार होडाले, समाज, टोल र समुदायका बिचमा आत्मीयता बढाउन खेलले मद्दत गर्ने बताए । व्यक्तिमा भएको उर्जालाई सकारात्मक काममा लगाउन खेलको भूमिका रहने बताउँदै नगर सभाअन्तर्गतको विधायन समितिका संयोजक रुपा थापा क्षेत्रीले समुदायको सम्बन्धलाई प्रगाढ बनाउने बताए ।
वडा सदस्य एवं खेलका संयोजक सुरेश शाहीका अनुसार खेलका लागि नवलपरासीबाट २ टोली, बनेपाबाट १, हेटौडाबाट १ र चितवनबाट १ गरी बाहिरी जिल्लाबाट ५ टोलीको सहभागिता छ । नकआउटका आधारमा खेलाइने खेल हरेक दिन विहान ८ बजेदेखि निरन्तर २ खेल र बेलुका ४ बजेदेखि एउटा खेल खेलाइनेछ । असार ४ गते खेलको अन्तिम प्रतिस्पर्धा हुनेछ ।
खेलका विजेतालाई नगद १ लाख रुपैयाँसहित ट्रफी र उपविजेतालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै स्ट्राइकर, किपर, डिफेन्सरलगायत विभिन्न विधामा खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिनेछ ।
Add Comment