हरारे । दुईपटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपाल ग्लोबल छनोटमा एक सय १ रनले पराजित भएको छ । जिम्बावेको हारारे मैदानमा बिहीबार समूह ‘ए’मा नेपालले पूर्वच्याम्पियन वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको हो । टेस्ट राष्ट्र वेस्ट इन्डिजले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रनको विशाल योगफल खडा गरेको थियो । नेपालले लक्ष्य पछ्याउँदा ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ३८ रन जोडेको थियो । हारसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा रह्यो ।
नेपालले तीन खेलमा दुई हार र एक जितका साथ दुई अंक बटुलेको छ । अमेरिकालाई हराएको नेदरल्यान्ड्स दुई अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । रनरेटमा नेदरल्यान्ड्स राम्रो छ । लगातार दुई खेलमा जित निकालेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ । वेस्ट इन्डिजले चार अंक बटुलेको छ । आयोजक जिम्बावेले समान दुई खेलबाट चार अंक जोडेको छ । रनरेटका आधारमा जिम्बावे दोस्रो स्थानमा छ । यस समूहबाट तीन टोली सुपर सिक्समा जानेछन् । नेपालले सुपर सिक्सको आशा जीवितै राख्न अर्को खेलमा नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ । यद्यपि, नेपालको तुलनामा नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ ।
Add Comment