काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । एमालेबाट बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए । प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफू प्रधानमन्त्री हुँदा पटकपटक दिल्ली गएको र आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरेको अभिव्यक्ति दिएको अभिव्यक्तिले नेपालीको मनमा आघात पुगेको एमालेको भनाई छ । ‘यतिबेला नेपालीको मनमा आघात पुगेको छ । नेपालीको स्वाभिमान गिरेको छ । नेपालीहरू रोएको छ,’ एमाले सांसद पन्तले भने ।
उनले नेपालीहरू वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए । हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं । के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो र यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन भन्दै सांसद पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताए ।
सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाउन खोज्दा एमालेले प्रतिपक्षी दलहरूले रोस्टम घेराउसमेत गरेका थिए । एमालेसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि संसद अवरोध गरेका थिए । सभामुख घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए ।
Add Comment