काठमाडौं । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले एक दिने भ्रमणका लागि आजै काठमाडौं आइपुगेका लुले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलसँग भेटवार्ता गरिसकेका छन् ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेटके क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको उनको सचिवालयले जनाएको छ । सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे ।
सहायक विदेशमन्त्री लुले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् । एमाले मुख्यालय च्यासल पुगेर सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
Add Comment