समाचार

सत्ता पक्षकै सांसद बजेटको विपक्षमा उभिएपछि कमल सरकार अप्ठेरोमा

धनगढी । असार मसान्त सकिनै लाग्दा सदनमा सुरु भएको बजेटमाथिको छलफलका क्रममा सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू चर्को विरोधमा उत्रिएपछि सरकार अफ्ठेरोमा परेको छ । बजेटको असन्तुष्टि मिलाउन मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्षका दलका नेता र प्रदेश सांसदहरूसँग पटकपटक छलफल गरे पनि बजेट पारित गरेर जाने विषयमा सत्तापक्षमा सहमति जुटिसकेको छैन ।

सदनमा बजेटमाथिको छलफल सकिनै लाग्दा छलफलमा भाग लिएका प्रतिपक्षमात्र नभइ सत्ता पक्षका सबैजसो सदस्य बजेटको विपक्षमा बोलेका छन् । उनीहरूले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने भन्दै संशोधन गर्न सरकारसँग माग गरेका छन् । यसअघि सत्तापक्षका तीन दल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको संयुक्त बैठकले यथास्थितिमा बजेटको समर्थन नगर्ने निर्णय गरेको थियो ।

कानुनअनुसार असार मसान्तभित्र प्रदेश सभाबाट बजेट पारित भइसक्नु पर्नेछ । तर सत्तापक्षकै दल र सांसदहरू विपक्षमा उभिएपछि बजेट पारित हुनेमा अन्यौलता देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका सांसदले पनि बजेटको समर्थन गरेका छैनन् । काँग्रेसकै अधिकांश सांसदले सदनमा बजेटको चर्को विरोध गरेका छन् ।