समाचार

संखुवासभा कारागारमा कैदीको मृत्यु प्रकरण

संखुवासभा । मंगलबार राति कारागारभित्र भएको कुटपिट घटनामा नुवाकोट ककनी– ७ का २३ वर्षीय बलामी र संखुवासभा मादी नगरपालिका– ५ का १९ वर्षीय तोलांगीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीकै मिलेमतोमा कैदीहरू आकाश बलामी र विनोद तोलांगीको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न नमानिरहेका वेला जिल्ला प्रहरी कार्यालयले घटनाका वेला कारागारको सुरक्षामा खटिएका असइ लक्ष्मी चौधरीको नेतृत्वको टोलीलाई हिरासतमा लिएको हो ।

घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले भने १९ जनालाई नियन्त्रणमा लिएर फराकिलो ढंगबाट अनुसन्धान भइरहेको छ, चाँडै निष्कर्षमा पुग्छौँ । पक्राउ पर्नेमा हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनीष राई, दमनसिंह राई र सुमन गुरुङ पनि छन् ।

त्यस्तै, कारागारका चौकीदार रामकुमार कार्कीसहित कैदीहरू कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारू, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई प्रहरीले हिरासतमा राखेको छ ।