समाचार

पहिराको कारण काठमाडौं जोड्ने सडकहरु अवरुद्ध

काठमाडौं । दुई दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी सडकखण्ड पहिरोले अवरुद्ध भएकोे छ । कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडानजिकै खसेको पहिरोले आज दिउँसोदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको छ । सवारीसाधनहरू बाटोमै रोकिएका छन् ।

सोही सडकअन्तर्गतको बागमती गाउँपालिका– ३ टाकुर्चे र पाङ्दुर खोलामा पनि पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिँदा पहिरो हटाउन नसकिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोले आइतबार दिउँसोदेखि नै भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्ड पनि अवरुद्ध पारेको छ । पटक–पटक पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि लगातार पहिरो खसिरहेकाले यातायात खोल्न नसकिएका छैन । इन्द्रसरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोले सडक बन्द भएको छ ।