समाचार

अदालतको निहुँ गरेर दाहाल र माधवले नेकपा फुटाएका हुन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा अदालतले पुष्पकमल दाहालले फुटाएको आरोप लगाएका छन् । अदालतले नयाँ नाम लिएर आउन भनेको र आफूले अधिक कोसिस गर्दा पनि दाहालले नमानेको उनको दाबी छ । सोमबार एमालेका काठमाडौंका जनप्रतिनिधिहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘एकीकृत भएका एमाले र माओवादी पार्टीलाई फुटाइदियो भन्ने जुन भाष्य तयार गरिएको छ, त्यो ठीक होइन, उचित होइन । अदालतले के भनेको थियो, ऋषि कट्टेलको पार्टीले त्यही नाममा पहिल्यै दर्ता गरिसकेको हुँदा दर्ताका लागि अर्को नाम लिएर आऊ भनेको थियो । तर, मैले अधिक कोसिस गर्दा पनि दाहाल अर्को नाम लिएर दर्ता गर्न मानेनन् । अदालतले फुटाएको होइन, दाहालले फुटाएको हो ।

अदालतको निहुँ पारेर उनीहरूले कम्युनिस्ट पार्टीलाई टुक्र्याएर भागेको उनले आरोप लगाए । दाहालले एकपटक फुटाएर लगे । माधव नेपालले त पटक–पटक फुटाउन खोजे । अन्तिममा निर्वाचन आयोग, सभामुख, माधव नेपालहरू मिलेर संयुक्त साँठगाँठमा भदौ १० गते नेकपा एमालेलाई फेरि फुटाए,’ उनले भने ।