स्पोर्ट-मनोरञ्जन

क्रिकेट विश्वकप २०२३ : भारतीय क्रिकेट कन्ट्रोल बोर्डद्वारा १५ सदस्यीय टोली घोषणा

मुम्बई । भारतले यो वर्ष एकदिवसीय विश्वकप आयोजना गर्ने छ । टोली घोषणाका लागि सेप्टेम्बर ५ सम्मको समयसीमा दिइएको थियो र त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र चयनकर्ताले १५ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपि यो टोलीमा २७ सेप्टेम्बरसम्म परिवर्तन गर्न सकिनेछ । उपकप्तानमा हार्दिक पाण्ड्या र कप्तान रोहित शर्माले १० वर्षपछि टीम इन्डियालाई आईसीसी ट्रफी जिताउने जिम्मेवारी सम्हाल्ने छन् ।

रोहित र शुभमन गिलले भारतीय टोलीमा ओपनरको भूमिका निर्वाह गर्नेछन् । इशान किशन ब्याकअप ओपनर हुनेछन् । तर, उनले मिडल अर्डरमा पनि मौका पाउन सक्छन् । योसँगै विराट कोहली, श्रेयस अय्यर र केएल राहुलले मध्यक्रममा भारतीय टोलीको रेखदेख गर्नेछन् । टोलीमा सूर्यकुमार यादव पनि परेका छन् । कोही घाइते हुँदा उसले मौका पाउन सक्छन । भारतसँग विकेटकिपरका लागि दुई विकल्प छन् । यसको उत्तरदायित्व राहुल र ईशानको हुनेछ । टोलीमा चार खेलाडीलाई अलराउन्डरका रुपमा राखिएको छ । जसमा हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल र शार्दुल ठाकुर रहेका छन् ।

फास्ट बलिङको नेतृत्व जसप्रित बुमराह, मोहम्मद शामी र मोहम्मद सिराजले गर्नेछन् भने स्पिन विभागको जिम्मेवारी कुलदीप यादवबाहेक जडेजा र अक्षरको हुनेछ । भारतले अष्ट्रेलियासँगको खेलमा विश्वकप अभियान सुरु गर्नेछ । खेल अक्टोबर ८ मा चेन्नईको चेपौक स्टेडियममा हुनेछ ।

अर्कोतर्फ, भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ । सन् २०१९ जस्तै यस पटक पनि एकदिवसीय विश्वकप राउण्ड रोबिन ढाँचामा खेलाइनेछ । सबै १० टोलीले एकअर्काको सामना गर्नेछन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल नोभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।