स्पोर्ट-मनोरञ्जन

रोमाञ्चक खेलमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका एसिया कपको फाइनलमा

कोलम्बो । पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । वर्षाले रोकिएको यस खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । डकवर्थ लुइस नियम अनुसार श्रीलंकालाई २५२ रनको लक्ष्य थियो । यस्तो अवस्थामा श्रीलंकाको टोलीले अन्तिम बलमा आठ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक अविजित ८७ रन बनाए । योसँगै इफ्तिखार अहमदले ४७ रनको योगदान दिए र रिजवानसँग शतकीय साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरमा पुर्याएका थिए । अब्दुल्लाह शफिकले पनि ५२ रनको योगदान दिए । श्रीलंकाका लागि मथिशा पाथिरानाले तीन र प्रमोद मदुशनले दुई विकेट लिए । तिक्षना र भेलाल्गेले एक एक विकेट लिए ।

श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिक ९१ रन बनाए । असलंकाले अविजित ४९ रन बनाएर टोलीलाई जित दिलायो । समरविक्रमाले पनि ४९ रनको योगदान दिए । पाकिस्तानका लागि इफ्तिखार अहमदले तीन तथा शाहिन अफ्रिदीले दुई विकेट लिए । सादाब खानले एक विकेट लिए । अब यही मैदानमा सेप्टेम्बर १७ मा भारत र श्रीलंकाबीच एसिया कपको फाइनल खेल हुँदैछ ।

यसअघि भारतले १५ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ । तर, यो खेलले प्रतियोगितामा कुनै प्रभाव पार्ने छैन । किनभने, बंगलादेशको टोली सुपर फोरका सुरुवाती दुई खेल हारेर फाइनलको दौडबाट बाहिरिएको छ भने भारतीय टोली पहिलो दुई खेल जितेर फाइनलमा पुगेको छ ।