स्पोर्ट-मनोरञ्जन

अन्तर्राष्ट्रिय टी–२० मा नेपालको एउटै खेलमा १० विश्वकीर्तिमान

काठमाडौं । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत बुधबार हाङझाउमा नेपाली क्रिकेट टोली मंगोलियासँग प्रतिस्पर्धामा उत्रिँदै गर्दा नतिजा लगभग अनुमानित नै थियो । तर, क्रिकेट पण्डितहरूले अनुमान गरेभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एकै खेलमा १० विश्व कीर्तिमान बनाएको छ । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको दुर्लभ कीर्तिमान बनाएका छन् । बायाँहाते ब्याट्सम्यान कुशल मल्लले कम बलमा शतक बनाउदै विश्व कीर्तिमान पनि यही खेलबाट बनाए । कुशलले ३४ बलमा शतकीय इनिङ्स खेलेका थिए । उनले ५० बल सामना गरी १२ छक्का र आठ चौका प्रहार गरी एक सय ३७ रनको नटआउट योगदान दिए । यसअघि यो रेकर्ड संयुक्त रूपमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमसेखरको नाममा थियो । उनीहरूले समान ३५ बलमा शतक बनाएका थिए ।

मंगोलियाविरुद्धको खेलमा नेपालले छिटो शतक र अर्धशतक, सर्वाधिक छक्का, स्ट्राइक रेट, सर्वाधिक रनरेट, तेस्रो विकेटका लागि उच्चतम साझेदारी तथा डेथ ओभर र अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउनेलगायतका विश्व कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय टी–२० मा मंगोलियाको यो डेब्यु खेल हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै समेटियो । नेपालले एसियाडको नवप्रवेशी टोलीमाथि दुई सय ७३ रनको फराकिलो जित दर्ता ग¥यो । अन्तर्राष्ट्रिय टी–२०मा यो जित अन्तर अहिलेसम्मकै कीर्तिमानी हो । यसअघि ३० अगस्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई दुई सय ५७ रनको अन्तरले हराएको थियो ।

नेपालले मंगोलियाविरुद्ध बनाएको तीन सय १४ रनको योगफल पनि टी–२० फर्म्याटमा विपक्षी टोलीविरुद्ध बनेको अहिलेसम्मकै सर्वाधिक हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८÷३ को रेकर्ड राखेको थियो । त्यस्तै, सन् २०१९ मै चेक रिपब्लिकले टर्कीविरुद्ध २७८÷४ को रेकर्ड बनाएको थियो ।

यही खेलमा नेपालले सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड पनि बनाएको छ । नेपाली खेलाडीले आक्रामक ब्याटिङ गर्दै २६ छक्का र १४ चौका प्रहार गरे । यसअघि चेक रिपब्लिकको नाममा धेरै छक्काको रेकर्ड थियो । ३० अगस्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए । अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का प्रहार गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । मंगोलियाले वरीयता नै प्राप्त गरेको छैन । सन् २००७ मा मात्रै मंगोलिया क्रिकेट एसोसिएसनको स्थापना भएको थियो । सन् २०२१ मा आइसिसीको सदस्य बन्यो । मंगोलियाको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल नै नेपालविरुद्ध हो । –ईहेराल्डपोस्ट न्यूजडेस्क

फोटो : सोशलमिडियाबाट