विविध

महानगर गौरव योजना अन्तर्गत १५ हजार व्यक्तिलाई निःशुल्क सिपमुलक तालिम दिईने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क आयमूलक सिपमूलक तालिमका लागि गरेको सार्वजनिक आव्हानबाट कार्तिक २ गतेसम्ममा १ हजार ५४५ जनाले फाराम भरेका छन् । महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत कार्यान्वयन हुने कार्यक्रममा सहभागी हुन असोज २२ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । सामाजिक विकास विभागअन्तर्गत कार्यान्वयन हुने ‘महानगर गौरव र स्वर्णिम योजना’ को समीक्षा र दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमका सम्पर्क अधिकारी शान्ता पहाडीले यस सम्बन्धी जानकारी दिएको हो । तालिम प्राप्त जनशक्तिलाई रोजगारी तथा आयआर्जनमा सम्लग्न गराएर काठमाडौँ महानगरपालिकालाई रोजगारी हबका रुपमा विकास गर्ने कार्यक्रमको उद्देश्य हो । उनकाअनुसार दसैँलगत्तै सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु हुनेछ ।

बैठकमा समितिका संयोजक रामकुमार के. सी. ले भने, ‘सामाजिक विकास विभागले गर्ने कामहरु अन्य विभागमा पनि छरिएका छन् । विभागअन्तर्गत समेटिएका कार्यक्रम शतप्रतिशत कार्यान्वयन गरौँ । त्यसपछि सामाजिक क्षेत्रमा पर्ने जिम्मेवारीमा अगाडि बढौँ ।’
बैठकमा समितिका सदस्य एवं वडा नंं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सामाजिक क्षेत्रबाट गौरव योग्य काम भएको उल्लेख गर्दै, महानगरपालिका क्षेत्रभित्र भएका विश्व कीर्तिमानीहरुलाई सम्मान गर्ने कार्यक्रम अगाडि सार्न प्रस्ताव गरे । कार्यपालिका सदस्य महेश नेपालीले, प्राथमिता प्राप्त हरेक महानगर गौरव र स्वर्णिम योजना सामाजिक क्षेत्रसँग कुनै न कुनै रुपमा सम्बन्धित हुने भएकोले वृहत दृष्टिकोण राखेर काम गर्नु पर्ने खाँचो औँल्याए । अर्का कार्यपालिका सदस्य ललिता खड्गीले, समाज निर्माण गर्ने लक्ष्य प्राप्त गर्न सामुहिक प्रयत्नको खाँचो देखाएका थिए ।

हरेक योजना कार्यान्वयन प्रक्रियामा लैजाँदा अन्तरसम्बन्ध र समन्वयको पक्षलाई पहिलो सर्तका रुपमा हेर्ने गरिएको छ । बैठकमा विभागका प्रमुख गोपालप्रसाद पोखरेलले भने, ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तत्काल कार्यान्वयन लैजानु पर्नेछ ।’

सामाजिक विकासका कामसँग सम्बन्धित योजना तर्जुमा गर्दा विगतमा राखिएका शीर्षकलाई दोहो¥याउँदै जानुको सट्टा प्रभाव र आवश्यकता अध्ययन गरेर बजेट तर्जुमा गर्नुपर्छ । कार्यान्वयन योग्य कार्यक्रम त्यहाँबाट सुरु हुन्छन् । बैठकमा सहरी योजना आयोगका सदस्य सुरजराज काफ्लेले, विभागले शारीरिक र मानसिक दुवै प्रकारका विकासमा काम गर्नु पर्ने बताए । गौरव र स्वर्णिम योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुने भएकोले आफूहरुले कार्यान्वयन चरणमा सक्रियता बढाउने उनको भनाइ थियो । आयोगका अर्का सदस्य बाबुराम भट्टराईले, योजनाहरु विचको अन्तरसम्बन्ध र सहभागिताबाट नतिजा हासिल हुने धारणा राखेका थिए ।