समाचार

कर्णाली प्रदेश जाजरकोटमा मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प : उद्धार तथा खोज जारी

जाजरको, रुकुम । मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।

घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडकहरु समेत अवरुद्ध भएका छन ।

खोज तथा उद्धार जारी
नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ । परिचालित फौजले मृतकको शव तथा घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए–०५७ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा तीनजना डाक्टरसहित १६ जना, एनए–०१६०६४ स्काई ट्रकमार्फत काठमाडौंबाट चौरजहारीमा १६ जना, एनए–०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीनजना र एनए–०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।