मनोरञ्जन

महीला क्रिकेट इंग्ल्याण्डसँग ऐतिहासिक जितसँगै हरमनप्रीत एण्ड कम्पनीको नाममा विश्व कीर्तिमान दर्ता

नयाँ दिल्ली । भारतका छोरीहरूले डीवाई पाटिल स्टेडियममा हरमनप्रीतको कप्तानीमा भएको एकमात्र टेस्ट खेलमा भारतीय महिला क्रिकेट टोलीले इंग्ल्याण्डलाई ३४७ रनले पराजित गर्दै जित दर्ता गरेको हो । पहिलो इनिङ्सपछि दोस्रो इनिङ्समा पनि दीप्ती शर्माको जादुले इङ्ल्यान्डका ब्याटरलाई हरायो र पुरै टोली १३१ रनमा मात्रै ढलेको थियो । यो जितसँगै भारतीय टोलीको नाममा विश्व कीर्तिमान पनि दर्ता भएको छ । इंग्ल्याण्डलाई ३४७ रनले हराउँदै भारतीय महिला क्रिकेट टोलीले टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको स्वाद चाखेको छ ।

हरमनप्रीत एण्ड कम्पनीले २५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् १९९८ मा श्रीलंका महिला टोलीले पाकिस्तानलाई ३०९ रनले हराएको थियो । त्यस्तै, सन् १९७२ मा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई १७२ रनले हराएको थियो । अर्थात् महिला टेस्ट क्रिकेटमा भारतीय टोलीले रनको हिसाबले अहिलेसम्मकै ठूलो जित दर्ता गरेको छ । पहिलो इनिङ्समा मात्र ७ रन दिएर पाँच विकेट लिने दीप्ती शर्माको जादुले दोस्रो इनिङ्समा पनि इङ्ल्यान्डका ब्याटरलाई पराजित गरिन् । ८ ओभरमा ३२ रन खर्चेर दीप्तीले इंग्ल्याण्डका चार ब्याटरलाई प्याभिलियनको बाटो देखाइन् । योसँगै पूजा वस्त्रकारले तीन विकेट लिएकी छन् । राजेश्वरी गायकवाडले पनि २ विकेट लिए ।

दीप्ती शर्माले खेलमा कुल ९ विकेट लिएकी थिइन् जसका लागि उनी म्यान अफ द म्याच समेत चुनिएकी थिइन् । पहिलो इनिङ्समा १३६ रन बनाएको इङ्ल्यान्ड टोलीको अवस्था दोस्रो इनिङ्समा झनै नाजुक बन्यो । इंग्लिस टोली दोस्रो इनिङ्समा १३१ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि कप्तान हेथर नाइटले सर्वाधिक २१ रन बनाए भने चार्लोट डीनले २० रन बनाएर अविजित रहिन् । इंग्ल्याण्डले टेस्ट क्रिकेटमा सबैभन्दा ठूलो हार बेहोरेको छ ।