Uncategorized

स्वयम्भू क्षेत्रबाट ६१ मेट्रिक टन फोहोर, सडक किनारा मंगालबाट १ हजार ६५ मेट्रिक टन माटो निकालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ । ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट मेसिनले सडक पखाल्ने गरिन्छ । यसमा महानगर प्रहरी बलले सहयोग गर्ने गरेको छ । यससँगै स्वर्णिम योजनाअन्तर्गत नदी सफाइ र डुबान समाधान योजना सञ्चालनमा छन् ।

स्वयम्भू परिक्रमा मार्ग, सिढीँ, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ मेट्रिक टन फोहोर संकलन गरियो । मंसिर २१ गतेदेखि सफाइ थालिएको थियो । सफाइका क्रममा प्लाष्टिक, कपडा, बोतल, शिशा, रुखका पात संकलन भयो । यसका लागि दैनिक १ सय जना जनशक्ति खटाइएको थियो ।

परिक्रमा मार्गमा भगवान पाउ, किमडोल, बुद्ध पार्क, मसिंगालगायत ठाउँ छन् । स्तुप जानका लागि भगवान पाउबाट उक्लने सिढीँ छन् । यससँगै किमडोल र बुद्धपार्कबाट माथि जान सकिन्छ । सफाइका क्रममा मानिसहरुको आवातजावत हुने स्थानहरुलाई विशेष प्राथमिकतामा राखिएको थियो ।

सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा १ हजार ६४ मेट्रिक टन माटो निकालिएको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड डे«ेन, नाला सफाइ गरिरहेको छ । यस क्रममा पुस मसान्तभित्र ७४४ जना जनशक्ति परिचालन भइसकेका छन् ।

विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजार ७ सय भन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । यीमध्ये करिब ५ सय मंगाल निर्माण भएपछि एक पटक पनि खोलिएका थिएनन ।

अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं. ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । यसै गरी वडा नं. ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं. ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं. २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं. १ दरबार मार्ग सफाइ गरिसकिएको छ । वडा नं. १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं. १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा काम भएको छ ।