समाचार

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिन : अध्यक्ष ओली

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बटमलाइन सुनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलले सो विधेयक एमालेले संसदबाट पास गर्न नदिने पनि प्रष्ट पारेका छन् ।

अध्यक्ष ओलीले जनकपुर विमास्थलमा पत्रकारहरुसँगको कुराकानीमा सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्ग्याउँदा सबैको हित हुने बताए । विधेयकमा समेटिएका केही कुराले पीडितलाई न्याय भन्दा थप पीडा थप्ने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष ओलीले सबैको सममतिमा मिलाएर मात्रै विधेयक पारित गराउनेमा आफूहरु रहेको स्पष्ट पारे ।

‘मस्यौदामा केही कुरा मिलेका छैनन । त्यही कुरालाई मिलाएर पास गर्नुपर्छ भन्ने कुरा भइरहेका छन,’ अध्यक्ष ओलीले भने ‘हामी नमिल्नुपर्ने कारण नै छैन । पीडितहरुले न्याय पाउनुपर्यो । विधेयक पीडित केन्द्रीत हुनुपर्यो, पीडितलाई पीडा थप्नु भएन । पहिल्यै पीडित छँदैछन, अब फेरी उनीहरुलाई दबाएर जानु राम्रो हुँदैन भन्दै ‘अन्तर्राष्ट्रिय समुदायले स्वीकार्नेगरी, सर्वोच्च अदालको फैसला समेतलाई ध्यान दिएर मानवता विरुद्धका जघन्य अपराधहरुमा छुट नहुनेगरी र फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले सहमति हुनुपर्छ बताए ।’ माओवादी केन्द्रको संसदीय दलको बैठकले यही अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल गरेलगत्तै ओलीको यस्तो बटमलाइन आएको हो ।