मनोरञ्जन

रेडियो कार्यक्रम ‘बिनाका गीतमाला’का चर्चित स्वर अमिन सयानीको निधन

नयाँ दिल्ली । भारतका प्रसिद्ध रेडियो उद्घोषक अमिन सयानीको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । मृत्युको कारण हृदयघात भएको बताइएको छ । वरिष्ठ रेडियो प्रस्तोताले मंगलबार राति मुम्बईको एक अस्पतालमा अन्तिम सास लिए । उनका छोरा राजिल सयानीले यो खबरको पुष्टि गरेका छन् । उनले अमिन सयानीलाई हृदयाघात भएको र त्यसपछि उनले संसारलाई बिदा गरेको बताए । दुःखको यस घडीमा अमिन सयानीका परिवारसँगै उनका फ्यानहरु पनि स्तब्ध छन् ।

अमिन सयानीलाई उनको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै, अल इन्डिया रेडियोले सबैभन्दा उत्कृष्ट प्रस्तुतकर्ताहरूमध्ये एक, अमीन सयानीको निधन भएको दुःख व्यक्त गरेको छ । उनी रेडियो कार्यक्रम बिनाका गीतमालाका प्रतिष्ठित प्रस्तोता थिए । २१ डिसेम्बर १९३२ मा जन्मिएका अमिन सयानी रेडियो संसारका सुपरस्टार थिए । रेडियोलाई मान्यता दिनमा उनको ठूलो योगदान थियो । ‘गीतमाला’ उनको लोकप्रिय कार्यक्रम हो । यो एउटा शोले अमिन सयानीलाई निकै लोकप्रियता दिलाएको थियो ।

आफ्नो सुन्दर आवाज र आकर्षक शैलीका कारण उनी फ्यानहरु माझ सुपरस्टार थिए । अमिन सयानीले आफ्नो रेडियो करियरमा ५० हजारभन्दा बढी शो गरेका थिए । अमिन सयानीको ‘भाइयो और बहनो’ ले दर्शकलाई सम्बोधन गर्ने शैली अझै पनि दिमागमा ताजा छ र ट्रेन्डसेटर बनेको छ । अमिन सयानी रेडियोको दुनियाँमा राजा भएर बसे । उनको स्वरको जादूले श्रोतालाई मन्त्रमुग्ध बनाउँथ्यो, जुन अब सम्झनामा मात्रै रहने छ ।