मनोरञ्जन

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् ।
नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उनले भने । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उनको भनाई छ । नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको पूर्वमन्त्री विश्वकर्माले जनाए ।

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बालबालिकाहरु संवेदनशील भएको तर, राज्यको आँखा बालबालिकामा पुग्न नसकेको जिकिर गरिन् । आजको बालबालिकाहरु नै भोलिको भविष्य भएको उल्लेख गर्दै न्यौपानेले बालबालिकाहरुलाई नाटकमा सहभागी गराउनु भनेको उनिहरुको प्रतिभा उजागर गर्नु मात्र नभै उनिहरुमा आत्मविश्वास विकास गर्नुपनि रहेको बताइन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ एवम् नाट्य विभाग प्रमुख हिसान मगरले देशको संस्कृतिले नै देशको वास्तविक मुहार देखाउने भएपनि त्यहीँनेर कमजोर भएको बताए । ‘बाहिर बसेर आलोचना गर्नु बेग्लै कुरा रहेछ, भित्र बसेर काम गर्नु बेग्लै कुरा रहेछ । अहिले संगीत तथा नाट्य एकेडेमीमा बसेर काम गर्दा यही महशुश गरिरहेका छौं ।’ उनले नाट्यकर्मी महासंघले गरेको कार्यक्रमलाई सहयोग गर्न इच्छुक रहेको बताए ।

सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक दीपक सरकारले नाट्यकर्मी महासंघले बाल नाटक मेलालाई निरन्तरता दिनु महत्वपूर्ण भएको उल्लेख गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटनको लागि यस्ता मञ्चहरु निर्माण गर्नु र त्यसलाई निरन्तरता पनि चुनौतीपूर्ण रहेको बताए । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रंगमञ्च र चलचित्र क्षेत्रका कलाकारहरु पेशागत रुपमा पीडित भएको उल्लेख गर्दै पेशागत अधिकारका लागि नाट्यकर्मी र चलचित्रकर्मीहरुको एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटक मेलाको माध्यमबाट असल, चेतनायुक्त नागरिक र समाज निर्माणको लागि पहल गरेको बताए । उनले भने,‘गत वर्ष ग¥यौं तपाईहरुले साथ दिनुभयो, हौसला दिनुभयो, हामी पनि हौस्यौं र फेरि पनि आयोजना ग¥यौं ।’ नेपाली नाट्यकर्ममा धेरै समस्याहरु रहेपनि नाट्यकर्मीहरु एकताबद्ध नभएको कारणले समस्या जुन कानसम्म पुग्नुपर्ने हो त्यहाँसम्म पुग्न नसकेको उनको धारणा छ ।

नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरियो । गीतामा बैदेशिक रोजगारीमा विदेशीएको बाबु सम्पर्क विहिन भएपछि परिवार माथि आइपरेको समस्या समाधान गर्न गरिएको संघर्षलाई उतारिएको छ । बाल नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर वल्र्ड, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, नेपाल एयरलाइन्स, एभरेष्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, इजि केयर, सारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमीले प्रायोजन गरेका छन् । निजी तथा आवासिय विद्यालयहरुको अर्गनाइजेशन प्याब्सन नेपालको सह–आयोजनामा बाल नाटक मेला भइरहेको छ ।