समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा १८ जना घाइते, ३ पक्राउ : घाइतेको अवस्था सामान्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार सरकारलाई ४०बुँदे माग राखेर आन्दोलनमा उत्रिए पछि प्रदर्शन र झडपका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालले जानकारी दिएके छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ ।

भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेर प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारीबीच सामान्य झडप भएको थियो भने प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको थियो ।
राप्रपाले भने प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेको थियो । राप्रपाको प्रदर्शनलाई ख्याल गर्दै सोमबार उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा समितिको बैठक बसेर एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको थियो । राप्रपाका नेताहरूले शान्तिपूर्ण तरिकाले निषेधित क्षेत्र तोड्ने यसअघि नै बताएका थिए । सोही योजना अनुसार उनीहरू भद्रकालीको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । प्रदर्शन र झडपपछि कैयौँ रुटमा गाडी नचल्दा सर्वसाधारण पैदलै हिँड्न बाध्य भएका थिए ।