मनोरञ्जन

उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल : काठमाडौँ महानगरपालिका सेमीफाइनलमा, मंगलबार मध्यपुर थिमीसँग प्रतिस्पर्धा हुने

काठमाडौँ । उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका सेमी फाइनल चरणमा प्रवेश गरेको छ । आज भएको खेलमा २–१ अन्तरले गोदावरी वी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो । महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गरेका थिए ।

पौडेललाई म्यान अफ दी म्याचका रुपमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । महानगरपालिकाका टीम म्यानेजर नविन चित्रकारका अनुसार काठमाडौँ महानगरपालिकासँगै मध्यपुर थिमी, चन्द्रागिरी, र महालक्ष्मी नगरपालिका टीम सेमीफाइनल खेलमा पुगेका छन् । महानगरपालिकाको टीमले मध्यपुर थिमी नगरपालिकाको टीमसँग सेमीफाइनल खेल खेल्नेछ । यो खेल आउँदो मंगलबार हुनेछ ।
सेमीफाइनलको अर्को खेल महालक्ष्मी नगरपालिकाको टीम र चन्द्रागिरी नगरपालिकाको टीमका बिचमा हुनेछ । यी दुई खेलका ४ टोलीमध्ये जित्ने दुई टोलीका बिचमा फाइनल खेल हुनेछ ।

वैशाख १५ गते सुरु भएको खेल गोदावरी नगरपालिकाको वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा भइरहेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ४–३ अन्तरमा जितेको थियो । त्यस खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट काठमाडौँ महानगरपालिकाका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गरेका थिए । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धामा छन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र टीम क्याप्टेन नविन चित्रकारले गरेको छ ।

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।