विविध

सिप मेला २०८१ : मेलाबाट प्रशिक्षित जनशक्तिले सिकेको सिप कागजमा होइन, व्यवहारमा देखाउन सकुन् — उपाध्यक्ष, राजभण्डारी

काठमाडौँ । टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलामा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको हो । ‘तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ । यसका लागि सिप परीक्षण गर्ने योजनामा छौँ ।’ आज मेलाको अवलोकनका लागि पुगेका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘सिप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ ।’

‘तालिम प्राप्त गरेका व्यक्तिहरु काम गर्न निपूर्ण हुनुपर्छ । यसका लागि प्राप्त ज्ञान र प्रयोगात्मक सिपको मापन हेर्नेछौँ । प्रशिक्षण विधि, पाठ््यक्रम, सिकाइ विधि र सिकारुहरुमा आउने परिवर्तन हेर्नेछौँ । बजारले माग गरेका जनशक्ति र तालिमबाट प्राप्त योग्यताको स्तर हेर्नेछौँ ।’ उपाध्यक्ष राजभण्डारीसहितको टोलीलाई इञ्जिनियर शैलेन्द्र झा र रोजगार संयोजक देवेन्द्र के. सी. ले, तालिमका विषय, प्रशिक्षक, प्रशिक्षार्थीहरुका विषयमा जानकारी गराएका थिए ।

यस क्रममा उपाध्यक्ष राजभण्डारीले, प्रशिक्षकबाट प्रशिक्षण सहजता र प्रशिक्षार्थीबाट सिकेको सिप र प्राप्त ज्ञानका बारेमा जानकारी लिएका थिए । स्थलगत अवलोकनपछिको प्रतिक्रियामा उनले भने, प्रशिक्षार्थीले सिकेको सिप परीक्षण गराएर प्रमाणित हुने संयन्त्र बनाउनेछौँ । राजभण्डारीसँग सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञहरुको समेत सहभागिता रहेको थियो थियो ।