मनोरञ्जन

पूर्ण बहादुरको सारङ्गी पछि अब मुकुन सेभेन सिज इन्टरटेनमेन्ट निर्माणसँग

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो । फिल्ममा मुकुनकोे भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । यता, फिल्मकालागि कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ ।

पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विस्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनलाई शीर्षमध्येको भूमिका मध्य एक महत्वपूर्ण पात्रमा देख्न सकिने पौडेलको भनाइ छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । उनीहरुलाई राखेर निर्माणपक्षले मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बुझ्न सकिन्छ । सोसल–ड्रामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएसँगै मुकुनले भने, ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ । मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ । यसबाट सबैले केही नयाँ परिचय पाउनु हुने छ, फिल्मलाई लिएर उत्साहित छु ।’–सुरक्षा भट्टराई