‘सिप मेला’ बाट तालिम लिएकाहरुलाई रोजगारी दिन तयार रहेको निजी, उद्योग वाणिज्य तथा शैक्षिक क्षेत्रको प्रतिवद्धता

‘सिप मेला’ बाट तालिम लिएकाहरुलाई रोजगारी दिन तयार रहेको निजी, उद्योग वाणिज्य तथा शैक्षिक क्षेत्रको प्रतिवद्धता

९ ज्येष्ठ २०८१ ।
काठमाडौँ । निजी, उद्योग तथा वाणिज्य क्षेत्र र शैक्षिक क्षेत्रले टुँडिखेलबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । काठमाडौँ महानगरपालिकाले २०८१ सालको शुभारम्भ २०८१ जनालाई सिपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य हासिल गर्न रोजगारदाताहरुसँग मंगलबार साँझ तालिम सञ्चालन भइरहेको स्थान टुँडिखेलमा गरिएको अन्तरक्रियाका क्रममा उहाँहरुबाट यस्तो प्रतिवद्धता प्राप्त भएको हो ।

अन्तरक्रियामा निजी, उद्योग वाणिज्य, शैक्षिक, सामाजिक तथा गैरसरकारी एवं दातृ संघसंस्थाका प्रतिनिधिले धारणा राखेका थिए । ‘महानगरपालिकाले सञ्चालन गरेको तालिमले रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने एउटा पक्ष भयो । योभन्दा ठूलो चाहिँ नेपाल आफैँभित्र ठूलो सम्भावना छ, भनेर दिएको सन्देश धेरै प्रभावकारी छ ।’ उनिहरुले भने, ‘सर्वसाधारण जीवनस्तर सुधार गर्नदेखि बौद्धिक पलायन रोक्नसम्ममा यो कार्यक्रमले मद्दत गर्नेछ ।’ यस क्रममा उनिहरुले निजी, उद्योग तथा वाणिज्य र शैक्षिक क्षेत्रको अन्तरसम्बन्ध र समन्वयात्मक विकासका लागि नीति निर्माण जोड दिए ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मेला सञ्चालन गर्न अहिलेसम्म गरिएका काम र अवको योजनाका विषयमा कुरा गर्दै, अहिले प्राप्त भएको उपलब्धीमा निजी क्षेत्रको सहभागिता, प्रमुख भूमिका रहेको उल्लेख गरे । ‘युवा उमेरका व्यक्तिहरुको मनमा, म आफैँ पनि केही गर्न सक्छु । घर छोडेर विदेश जानु पर्दैन भन्ने भावना जागृत हुनु तालिमको महत्वपूर्ण पक्ष हो ।’ उनको धारणा थियो ।

अन्तरक्रियाको थालनीमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, सिप मेलाको पृष्ठभूमि, आवेदन र आवेदकहरुको संख्या, उनिहरुको मनोविज्ञान, तालिमका साझेदारहरुको भूमिकाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । २०८१ वैशाख १९ गते उद्घाटन भएपछि सुरु भएको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम कक्षा सकिएका छन् । अहिले ती कक्षाहरु दोस्रो चरणमा सञ्चालन भइरहेका छन् । झाले भने, ‘पहिलो चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भए । ज्येष्ठ ६ गते आइतबारदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन् ।’

उनको प्रस्तुतिपछि सहभागीहरुले तालिमको गुणस्तरका लागि अवलम्बन गरिएका अभ्याससँगै तालिमपछिको रोजगार, स्वरोजगार र साझेदारीका लागि महानगरपालिकाको योजनाका विषयमा जिज्ञासा राखेपछि सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले, १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) ले पाठ््यक्रम मस्यौदा गरेको, मस्यौदामाथि नेपाल उद्योग परिसंघबाट पृष्ठपोषण लिएर स्वीकृत गरिएको जानकारी दिए । तालिम सञ्चालन गर्नु पूर्व उद्योग र वाणिज्य क्षेत्रबाट कुन विधाका जनशक्तिको धेरै माग छ भनेर गरिएको अध्ययनका आधारमा तालिमका विषय र क्षेत्र छानिएको उनको भनाइ थियो ।

पूर्णकालीन र पार्ट टाइम (आंशिक) रोजगारीको अवधारणा बनाइएको छ । व्यापार व्यवसाय गर्न चाहनेहरुका लागि प्राविधिक सहयोग, कानुनी परामर्श, व्यवसायिक परामर्श, व्यापार वृद्धि गराउने सिप दिन इन्टरप्रेनरसिप एण्ड विजनेस इकुभेसन सेन्टर सञ्चालन गर्ने योजना छ । व्यापार गर्न कोवर्क स्पेसको अवधारणामा काम हुनेछ । यसमा ३ महिनादेखि ६ महिनासम्म तोकिएको स्थानमा निःशुल्क व्यापार गर्ने व्यवस्था हुनेछ ।
ढकालले भने, ज्ञानमार्फत क्षमता बढाउन चाहनेकाहरुका लागि ३ चरणमा उद्यशीलता कार्यशाला गोष्ठी हुनेछन् । पहिलो चरणमा ३ दिवसीय कार्यशाला र तालिम, दोस्रो चरणमा प्यानल डिस्कसन, ३ बर्ष नपुगेका स्टाट अपलाई स्केल अप गर्ने कार्यक्रम र तेस्रो चरणमा स्थापित व्यापारीहरुसँग १ दिवसीय अन्तरक्रियात्मक संवाद गरिनेछ । यी कार्यक्रमका लागि निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिइनेछ ।

प्रशिक्षार्थी छनोट प्राथमिकता
निःशुल्क सिपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको हो । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।

सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाकाअनुसार वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेर तालिममा सहभागी गराइएको छ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकता र त्यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीकाअनुसार आवेदन दिएका तर मेलाको तालिममा छुटेकाहरुलाई महानगर गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि, कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्र र पेशाका तालिम दिइनेछ । तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।

यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्÷डे«स मेकिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply