अर्थ-स्वास्थ्य

पूँजीगत खर्चमा वृद्धि : गएका ५ वर्षको तुलनामा यस बर्ष काठमाडौँ महानगरपालिकाको पुँजीगत खर्च दर उच्च

काठमाडौँ, असार २५ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षमा गएको ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको छ । वित्त विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१ प्रतिशत खर्च भएको छ । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो । यसरी खर्च हुनुमा नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयन गरिएकाले हो । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्छन, ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो ।’

आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो । यसको अघिल्लो वर्ष आ. व. २०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो । त्यसपछि आर्थिक बर्ष २०७६/७७ मा ५० प्रतिशत खर्च भएको थियो । त्यसपछि वर्षहरुमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो ।

खर्च अङ्क घट्दै बढ्दै गएको अवस्थाको विश्लेषण गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्, ‘राजस्व संकलन र खर्च बढाउने, बेरुजु घटाउने रणनीतिको नतिजा प्राप्त भएको छ । महानगरपालिकामा पूँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा योजनावद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि, सामूहिक प्रयास (टिम स्पिरिट) लगायतका प्रयासको योगदान छ ।’ प्रगति हासिल हुनुका कारणसँगै आगामी कार्यक्रमका बारेमा परियार भन्छन, ‘गत आर्थिक वर्षको बृहत समीक्षा, यथार्थपरक बजेट तर्जुमा, वार्षिक कार्ययोजना र अनुगमन योजना तर्जुमा र सोको प्रभावकारी कार्यान्वयन, पहिलो प्राथमिकता प्राप्त योजनाको कार्यान्वयनमा विशेष जोड, नियमित अनुगमन, समीक्षा, मूल्याङ्कन गर्दै पहिचान भएका कमजोरीहरुलाई सुधार गर्दै प्राप्त सिकाईहरुलाई संस्थागत गरिनेछ । बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।’

महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो । चालू आर्थिक वर्षमा २०८१ असार २४ गते सम्ममा करिब १० अर्ब आन्तरिक आय सङ्कलन भएको छ । यस अर्थमा २०८०÷८१ मा भएको खर्च सङ्कलित आन्तरिक आयको तुलनामा १२० प्रतिशत हो ।

चालू, पूँजीगत र वित्तीय खर्चको अवस्था
पाँच वर्ष अघि २०७६/७७ मा ७७ प्रतिशत चालू खर्च भएकोमा हाल आर्थिक वर्ष २०८०/८१ मा यो दर ६४ प्रतिशतमा सिमित भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ प्रतिशत र २०७९/८० मा २६ प्रतिशत रहेको पूँजीगत खर्चमा उत्साहजनक वृध्दि भएर ४२ प्रतिशत पुगेको छ ।

अर्कोतर्फ २०७७/७८ मा २३ प्रतिशत वित्तीय खर्च भएकोमा हाल शतप्रतिशत पुगेको छ । यसबाट महानगरपालिकाको २०८०/८१ को खर्च बढ्नुमा पूँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ ।

बेरुजु संपरीक्षण
महानगरपालिकाले क्रमशः वेरुजु रकम घटाउँदै लगेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड बेरुजु रहेकोमा २०७४/७५ मा ६९ प्रतिशतले कमी आएर ३४ करोड मात्र बेरुजु रहेको थियो । तत्पश्चात २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा ३२० प्रतिशतले वृद्धि भएको बेरुजु आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६१ प्रतिशतले कमी भई २६ करोड मात्र कायम रहेको छ ।