स्पोर्ट-मनोरञ्जन

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा

काठमाडौं, श्रावण २ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो।’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ ।

वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारी जस्तै भैरव राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ । मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिन्छन् । तन्त्र परम्परामा ठुलो सानो हुँदैन । तल्लो माथिल्लो भनिँदैन । सबैको अस्तित्व छ। यही अस्तित्वलाई वृत्तचित्रमा प्रस्ट पार्ने कोसिस गरेका छन् निर्माता सुनिलबाबु पन्तले। लाखे नाँच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ ।

धेरैको नोटिसमा नपरेको मन्दिरका टुँडालहरूमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गरेका छन् । वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ । असनको गणेश मन्दिरमा छोरा जन्मेको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मेका व्यक्तिको स्वरूपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याएका छन् ।

वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रित छ । वृत्तचित्रले विविध लिङ्ग र कामुकताहरूको अन्वेषण गर्दछ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दाहरूमा गहिरो प्रतिबिम्ब प्रस्तुत गर्दछ । पन्तको डकुमेन्ट्रीले काठमाडौं सहरलाई मातृसत्तात्मक परिप्रेक्ष्यमा देखाउँदै नारी योनीलाई महत्त्व दिने मन्दिरहरूलाई प्रकाश पारेको छ । पन्तले विदेशीहरू लैङ्गिक अध्ययनका लागि नेपाल आउने र यस क्षेत्रमा पिएचडी गर्न चाहेको बताए। उनले यो वृत्तचित्र लैङ्गिकता अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि बहुमूल्य स्रोत भएको बताए ।

संविधान सभाका सदस्यहरू र महिला अधिकारकर्मीहरूले यो वृत्तचित्र हरेक व्यक्तिलाई देखाउन सुझाव दिए । अधिकारकर्मी मिना पौडेलले अहिलेको भन्दा त्यति वेलाको समाज प्रगतिशील रहेको बताइन । ‘हिंसा विहीन खुला थियो, यौनका कारण कहिल्यै हिंसा भएन’, वृत्तभित्र हेरेपछि उनले भनिन्,‘त्यति बेला समानता थियो,शक्तिको दुरुपयोग भएन जुन अहिले छ ।’

राष्ट्रिय सभा सदस्य रेखा शर्माले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने बताइन । उनले वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता–व्यवस्था बुझ्न हेर्नै पर्ने फिल्म’ भनेकी छन । वृत्तचित्र जेण्डरको दस्ताबेज बन्ने अधिकारकर्मीहरूले बताए । नयाँ बहसका लागि वृत्तचित्र नयाँ खुराक हुन सक्ने उनीहरूले बताए। अहिलेसम्म भ्रम स्थापित भएको भन्दै उनीहरूले यौनिकतालाई त्यसबेला कसरी हेरिन्थ्यो भन्ने वृत्तचित्रले उजागर गरेको उल्लेख गरे ।

पन्तले कुमारी घरमा राखिएकी कुमारीलाई राष्ट्र प्रमुख बनाउनु पर्ने आफ्नो भ्यु पनि दिएका छन्। साथै चन्द्र र सूर्य अङ्कित नेपालको झन्डा जोगाउनुपर्नेमा उनले विशेष जोड दिएका छन् । संविधान सभामा झन्डा फेर्ने बहस समेत भएको भन्दै पन्तले नेपालको झन्डाले जस्तो अरू कुनै पनि देशको झन्डामा समानता भेट्न नसकिने बताए । वृत्तचित्रको पोष्चर सार्वजनिक भएको छ भने छिट्टै प्रिमियर गर्ने तयारीमा लागेको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिएका छन् । वृत्तचित्र युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएको पन्तले बताए ।