समाचार

कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने सहमति

काठमाडौं, साउन ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको छ । हाल छनोटका चरणमा रहेका पाँच सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो संख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयको जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जिटुजी प्रक्रियाअन्तर्गत केयर गिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारेसमेत छलफल भएको थियो । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिन सहमति जनाएको छ । साथै आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको विज्ञप्तिमा जनाईएको छ ।