विचार-अन्तर्वार्ता

राजधानीमा हैजाको त्रास, सावधानि आवश्यक : डा. केदार कार्की

नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको समाचार सुनिन्छ । यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता राजधानी काठमाण्डौंमा एक व्यक्तिलाई हैजाको सङ्क्रमण भएको पुष्टि गरेको छ । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । गर्मी बढे सँगै राजधानी मा पानी को अभाव देखिने गरेको छ । हैजाको बिरामी फेला परेपछि यो रोगको प्रकोप फैलिन्छ कि भन्ने त्रास छ । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर लेखिएको छ ।

लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ । हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ।यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेस गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।

हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ । राम्रोसँग नपाकेको समुद्री खाना ९सी फुड० यो ब्याक्टेरियाको मुख्य स्रोत हो । हैजाले मानिसहरूलाई मात्र असर र्पुयाउँछ । सरसफाईको अभाव, सफा पिउने पानीको अभाव तथा गरीबीले यसको जोखिमलाई बढाउने गर्दछन्। त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको सङ्क्रमण दर बढ्छ भन्ने विश्वास गरिन्छ । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ ।

हैजा गम्भीर खालको झाडापखाला हा । समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ । भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ । हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ । हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ । गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन । विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन्। २०१७ मा एउटा रणनीति ल्याइएको छ ।

अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ।तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ । जसका कारण छिट्टै शरीरमा जलवियोजन हुने खतरा हुन्छ त्यसैले शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन र दिसा नरोकिए तुरुन्त अस्पताल जानु बेस हुन्छ, जलवियोजनका कारण मांसपेसी बाउँडिने पनि उनी बताउँछन सामान्य झाडापखाला लागेको र एकदुई पटक दिसा भएको हो भने त्यो व्यक्तिले घरमै जीवनजल खाएर स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ । तर तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जाने सुझाव चिकित्सकहरूको छ।यसको उपचारका लागि शरीरबाट घटेको पानी तथा लवणतत्त्व सेलाइनमार्फत दिइन्छ र एन्टिबायोटिकको पनि प्रयोग हुन्छ ।

हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ।गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको सङ्क्रमण हुन सक्छ । दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो सर्न सक्छ।त्यसैले पानी उमालेर तथा खाद्य पदार्थ राम्ररी पकाएर खान चिकित्सकहरू सल्लाह दिन्छन । हैजा लागेको व्यक्तिको दिसा पानीमा पुग्यो ब्याक्टेरियाले पानी दूषित हुन्छ र त्यो पानी पिउने मानिसमा सर्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ । खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिन सक्ने सम्भावना बढी हुने बताइन्छ । यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन । ।खाना खानुअघि, खाएपछि, फोहर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले हैजा फैलन नदिन बचाउ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ । सङ्गठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ । हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भएपनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ । विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन ।

अझै पनि धेरै स्थानमा खानेपानी र ढलको व्यवस्थापन तथा व्यक्तिगत सरसफाइको स्थिति चित्तबुझ्दो नभएकाले काठमाण्डूबाहिर पनि हैजाको फैलन सक्ने सम्भावना रहेको बताइन्छ । देशका कतिपय स्थानमा झाडापखालाको कारण पत्ता लगाउन राम्रा प्रयोगशाला नभएको भएकाले हैजा हो कि हैन त्यो पत्ता लगाउन गाह्रो भएको देखिन्छ।हैजाका देखिएका ठाउँमा त्यो जीवाणु भएको स्रोत पत्ता लगाएर त्यसको व्यवस्थापन गर्नु सबैभन्दा उचित उपाय मानिन्छ ।