समाचार

गठ्ठाघरमा भएको दुर्घटनाको जिम्मेवार को ? गृहमन्त्रालयको ध्यान जाओस !

भक्तपुर, साउन ३२ । भक्तपुरको मध्यपुर थिमि ३, गठ्ठाघर चोकमा हिजो ३१ गते मालबहाक ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको १४ चक्के ट्रकको ठक्करले सोही दिशामा आउँदैं गरेको बा ३९ प ८९४४ नम्बरको स्कुटर चालक पुरुष मृत्यु भएको हो । मृतक उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक भेटिए छ तर मृतकबारे अझै यकिन नभएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

घटनापछि फरार रहेका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने ३२ वर्षिय सतेन्द्र श्रेष्ठलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले जानकारी दिदै प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रण लिएको बताए ।

गठ्ठाघर चोकमा ट्राफिकले सवारी जाँच गरिरहेको अवस्थामा दुर्घटना भएको हो । ट्राफिक जाँच पार गरेर गएको स्कुटरलाई ट्रकले ठक्कर दिई चालकलाई कही मिटर परसम्म घिसारेर लगेको थियो । जसले गर्दा मृतकको शब क्षतविक्षत बनेको थियो । सर्वसाधारणको अवरोधले ट्रक मुनीबाट करिव ३ घण्टापछि मात्र शव निकालेको थियो ।

घटना लगत्तै सर्वसाधरणले ट्रक माथि ढुंगामुढा गरी आगजनीको प्रयास गरेका थिए । प्रहरीले समयमा नियन्त्रण लिँदा ट्रकमा आगजनी भने हुन पाएन । आक्रोशित भिडले सडकमा प्रदर्शन गर्दा अरनिको राजमार्गको कोटेश्वर सल्लाघारी खण्ड करिव ३ घण्टा अवरुद्ध भएको थियो ।

स्थानिय प्रत्येक्षदर्शिका अनुसार घटना ट्राफिकको सवारी जाँच भइरहेको अवस्थामा भएको हो । सोही कारण ट्राफिकको लापरवाही र गल्तीका कारण दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीलाई कारवाही हुनुपर्ने माग पनि सामाजिक सञ्जालमा आएको छ । साथै ट्राफिकले झाडीमा लुकेर सवारीको स्पिड जाँच गरेको तस्विरहरु पनि भाइरल भइरहेको छ ।

ट्राफिक प्रहरीको लापरवाही र गल्तीका कारण दुर्घटना भएको हो भने यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र अधिकार सम्पन्न एक छानविन समिति गठन गरी सिसि फुटेजको आधारमा समेत छानविन गरी यथाशिघ्र सत्यतथ्य सार्वजनिक गर्नुपर्छ । साथै सुरक्षा चेकजाँचको निहुमा वानचालकहरुलाई तर्साउने कार्य र कार्वाहिको नामम जथभावि जतापनि रकम असुल्ने कार्य ट्राफिक प्रहरीबाट हुनु हुदैन यो विषयतिर सम्बन्धित निकाय गृहमन्त्रालयको ध्यान जानु आवश्यक छ ।