समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन : क्रियाशिल पत्रकारहरुको मोर्चाले उम्मेदवार टुँग्याउदै

काठमाडौं, भाद्र २२ । नेपाल पत्रकार महासंघको निर्वाचनको तिथि तोकिएसँगै चुनावी माहोल तात्तिँदै गर्दा यसपटकको निर्वाचनमा क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले उम्मेदवार दिने भन्ने विषयमा ध्यान केन्द्रित गर्दै आज मोर्चाका संयोजक योगेन्द्र प्रताप शाही, सह–संयोजक प्रविण कुमार चौधरी सहित पदाधिकारीहरुको बैठक बानेश्वरमा बसेको थियो ।

उक्त बैठकमा विशेषगरी केन्द्र, प्रदेश र उपत्यकाका लागि को कसलाई उम्मेदवार बनाउने विषयमा केन्द्रीत भएर छलफल भएको छ । क्रियाशील पत्रकारहरूको साझा मोर्चाले केन्द्रका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, समावेशी उपाध्यक्ष र खुला उपाध्यक्ष तथा महासचिव, सचिव, समावेशी सचिव, लेखासमिति संयोजक र केन्द्रीय सदस्य सहितका पदकालागि संभावित उम्मेदवार सदस्यहरुको नामावलि तयार पारेको छ ।
मोर्चाले तयार पारेको संभावित उम्मेदवारहरुको नामावलि भोलि बस्ने क्रियाशिल पत्रकारहरुको साझा मोर्चाको पूर्ण बैठकले अन्तिम सूचि तयार गरि सार्वजनिक गर्ने मोर्चाका सचिव योगेश खपाङ्गीले बताएका छन् । साथै मोर्चाको एजेण्डा तथा अवधारणालाई स्वीकार गरेर गठबन्धनमा आउने वा हुने चाहने अन्य घटकहरुसँग पनि छलफल गरि गठबन्त्रन गर्न सकिने समेत खपाङ्गीले बताएका छन् ।

मोर्चा आफ्नो एजेण्डामा प्रतिबद्य रहेको तथा विभिन्न संचार माध्यममा नियोजित षड्यन्त्र गर्ने दुष्प्रयास गरिएकोमा खेद प्रकट गर्दछ । मोर्चा निकटका साथीहरुलाई लक्षित गरि कुनै संगठनबाट उम्मेदवार भनेर कपोलकल्पित भ्रामक समाचारको खण्डन गर्दै त्यस्ता दुष्प्रचार नगर्न चेतावनी समेत दिईएको छ । महासंघको निर्वाचनमा मोर्चा एक्लै जाने वा सहकार्य गर्ने सम्बन्धमा आगामी पुर्ण बैठकबाट निर्णय गर्ने जनाएको छ ।