काठमाडौं, भाद्र २७ । येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ । इन्द्रजात्रा व्यवस्थापन समिति तथा गुथिहरुसँग समन्वय गर्ने, जात्रा सञ्चालनका लागि रकम निकासा दिने, मौलिक बादन, गायन, नृत्य, सृङ्गार, खानपान तथा क्रियाकलापको नियमित सञ्चालनमा प्रोत्साहन गर्ने तथा प्रवर्धन गर्ने काम गरिरहेको छ । येँया ११४४ का अवसरमा महानगर विशेष कार्यक्रम मूल समारोह समितिले हनुमानढोकाको लोँह चोकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन, ‘स्थानीय मौलिक जात्रा पर्व जोगाउन स्थानीय सरकारलाई प्राप्त भएको जिम्मेवारी महानगरपालिकाले पूर्ण रुपमा निर्वाह गर्नेछ ।’
कार्यक्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्षले, देवदेवतासँग सम्बन्धित नृत्यहरु व्यावसायिक क्षेत्रमा प्रदर्शन हुन थालेको प्रसङ्ग उल्लेख गरिन । उनले भनिन, ‘मौलिक जात्रालाई राजनीति र विकृतिबाट बचाउनुपर्छ । यसमा सबै पक्षबाट निगरानीको खाँचो छ ।’
परम्परागत सस्कृतिको प्रवर्धनका लागि प्रविधिको उपयोगलाई महानगरपालिकाले प्रयोग गरेको छ । उनले यस वर्षको जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा, लाखे आजु, पुलुकिसी, हलचोक भैरव (सव भकु) नाच कुन ठाउँमा प्रदर्शन भइरहेको छ भन्ने कुरा भौगोलिक सूचना प्रणालीमार्फत हरेक स्मार्ट मोवाइल प्रयोगकर्ताको हातमा पुग्ने प्रविधि प्रयोग हुने बताईन । युवाहरुलाई मौलिक परम्परासँग जोड्दै डवलीको पुनःस्थापनाका लागि भदौ ३० गते करिब १ सय कलाकारहरुले एकै पटक प्रस्तुति गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
त्यस क्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘यस वर्षदेखि महानगरपालिकाले विशेष पूजा सहितको जात्रासँग सम्बन्धित लाखे आजु, पुलुकिसी, हल चोक भैरव (सव भकु) र महाकाली नाच प्रदर्शनको परम्परा थालनी गर्नेछ ।’ यस वर्ष उपत्यकाका जनप्रतिनिधिलाई आमन्त्रण गरेर नृत्य अवलोकन गराइने उनको भनाइ छ ।
आय नभएका कारण जात्राका कुनै पनि क्रियाकलाप रोकिन नदिने बताउँदै मूल समारोह समितिका संयोजक आशामान संगतले भने, ‘गुथि सञ्चालनमा कठिनाइ हुन सक्छ । आपसी केही नमिलेका कुरा हुन सक्छन् । यी सबै कुरा विर्सेर पर्वलाई उल्लासमय बनाउनुपर्छ ।’
यस वर्ष कुमारी रथ यात्रा छिट्टै सुरु गर्ने योजना छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले, श्रीगणेश र श्रीभैरवलाई दिउँसो १ बजे कुमारी घरमा आइ पुग्न आमन्त्रण गरिएको जानकारी दिए । पर्वमा प्रस्तुत हुने देवी देवताको नक्कल गरेर होटल तथा रेष्टुरेन्टमा विभिन्न प्रस्तुति हुने गरेको हामीले सूचना पाएका छौँ । यसो गर्नु गलत हो । विकृति हो । यसलाई रोक्नु पर्ने सुझाव आएको छ । गौत्तमको भनाइ छ ।
कार्यक्रममा गल्ली म्याप्सबाट राज महर्जनले जात्राका अवसरमा लोकेसन हेर्न प्रयोग हुने जिपिएस डिभाइस उपप्रमुख डंगोललाई हस्तान्तरण गरेकि थिईन ।
यस वर्षको येँयाअन्तर्गत यःसिंलाई हनुमानढोका कागेश्वरी मन्दिर नजिक उत्थान गर्ने खाल्टोको छेउमा ल्याइसकिएको छ । भदौ २० गते मानन्धर समुदायका गुथियारहरु विहान १० बजेर ४७ मिनेटको साइत पारेर गुर्जुको पल्टनसहित वन प्रस्थान गरेका थिए । त्यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । त्यसको भोलिपल्ट यःसिं तानेर भोटाहिटी ल्याइयो । यसलाई २६ विहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको हो ।
Add Comment