समाचार

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आयोगद्वारा कार्यातालिका स्वीकृत

काठमाडौं, असोज २ । संवत् २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको छ ।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना २०८१/०६/०९ मा प्रकाशन गरी ऐ १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, २०८१/०६/२० मा दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, २०८१/०७/२६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, २०८१/०७/३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २०८१/०८/०२ देखी निर्वाचन कार्यक्रम संचालन गर्दै २०८१/०८/१६ मा मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको व्यहोरा सहित आयोगले विज्ञप्ति जारी गरेको छ ।