समाचार

बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइत

काठमाडौँं, असोज १३ । देशैभरी परेको अविरल वर्षाका कारण दैनिक जनजिवन अस्तवेस्त भएको छ । गृहमन्त्रालयका अनुसार हिजो शनिबार उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका अनुसार बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको छ । मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

त्यस्तै गोरखाबाट गत शुक्रबार काठमाडौँका लागि हिँडेको बा ४ ख २२७० नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्गको झ्याप्लेखोलाको पहिरोमा पुरिएको पुष्टि भएको छ । धार्चे गाउँपालिका–७ लापुबेशीबाट गत शुक्रबार काठमाडौँका लागि छुटेको सो बस तीन दिनदेखि सम्पर्क विहीन थियो ।

दरौँदी यातायातको सो बसमा बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । साथै धार्चेका एकजना यात्रु सुक गुरुङ रहेका थिए ।

त्यस्तै अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।