काठमाडौ, मंसिर ११ । सम्वत् २०८१ मंसीर १६ गते सम्पन्न हुन गइरहेको स्थानीय तह उपनिर्वाचन–२०८१ का सन्दर्भमा निर्वाचन आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरुबारे नियमित रुपमा जानकारीलिई तत्कालै समस्या समाधान गर्ने उद्धेश्यले निर्वाचन सुरक्षा (व्वस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार आजदेखि निर्वाचन परिणाम घोषणा नभए सम्मको लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरिएको छ ।
सो केन्द्रको संयोजन निर्वाचन आयोगका सचिव श्री रविलाल पन्थबाट गरिएको छ भने सदस्यहरुमा आयोगको प्रशासन महाशाखा प्रमुख सहसचिव श्री नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव श्री ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी श्री सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक श्री नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक श्री दिपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री दिग बिजय सुवेदी, आयोगका उपसचिव श्री दुर्गा प्रसाद चालिसे र सदस्य–सचिव आयोगका उपसचिव डा. थानेश्वर भुसाल रहेका छन् ।
आसन्न उपनिर्वाचन–२०८१ को परिप्रेक्ष्यमा आचारसंहिताको पालना लगायतका कुनै पनि विषयहरुमा कुनै जानकारी वा गुनासो भएमा आयोगको कल सेन्टर ११०२ वा केन्द्रको फोन नम्बर ०१–५३२६३२६ मा सोझै सम्पर्क गर्न आयोगद्वारा जारि विज्ञप्तिमा सबैमा हार्दिक अनुरोध गरेको छ ।
Add Comment