विचार-अन्तर्वार्ता

नेपालमा सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाः समयको माग—योगेन्द्र प्रताप शाही

नेपाल – विश्वको एक मात्र हिन्दू राष्ट्र – जहाँ हजारौं वर्षदेखि सनातन धर्म, वैदिक संस्कृति र देवी–देवताका आराधनाले जनजीवनलाई निर्देशित गर्दै आएको छ । भगवान पशुपतिनाथको आराध्य भूमि, गोर्खाली वीरताको इतिहास, र धर्मप्रति जनताको श्रद्धाले नेपाललाई अद्वितीय बनाएको छ । तर आज, जनताले फेरि एकचोटि आवाज उठाएका छन् — नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको रूपमा फर्काइनु पर्छ ।

इतिहासको दृष्टिकोणमा नेपालः हिन्दू राष्ट्रको पहिचान
नेपालको राज्य व्यवस्था सैकडौं वर्षसम्म हिन्दू धर्मको आधिकारिक संरक्षणमा रह्यो। नेपालका राजा श्री ५ लाई भगवान विष्णुको प्रतिनिधि मानिन्थ्यो, र राज्य शासन धर्मका आधारमा नै चल्थ्यो । हिन्दू धर्म, मठ–मन्दिर, संस्कार, परम्परा र राजसंस्थाले नेपालको राष्ट्रिय चरित्र निर्माण गरेको थियो ।

राजा महेन्द्र, राजा वीरेन्द्र जस्ता राष्ट्रनायकहरूले नेपाललाई स्थायित्व, धर्म, संस्कृतिको संरक्षण र सार्वभौम पहिचान दिलाएका थिए। तर यो सब २०६३ सालपछिको राजनीतिक परिवर्तनसँगै क्रमशः खण्डित हुँदै गयो ।

राजसंस्थाको अन्त्य र राष्ट्रको अस्थिरता
२०६३ सालपछि राजा र राजसंस्थालाई संविधानबाट हटाइयो, र नेपाललाई “धर्मनिरपेक्ष गणतन्त्र“ घोषणा गरियो। यो निर्णय जनताको व्यापक सहमति विना केही राजनीतिक शक्तिहरू र विदेशी प्रभावमा गरिएको थियो। त्यसको परिणाम आज हामीले देखिरहेका छौं — निरन्तर राजनीतिक अस्थिरता, भ्रष्टाचार, सांस्कृतिक विच्छेदन, र धर्मको उपेक्षा । राजसंस्थाको खालि ठाउँमा आएको नेतृत्वले जनताको भावना बुझ्न सकेन। पशुपतिनाथदेखि लिएर लाखौं हिन्दू मठ–मन्दिरहरू राजनीतिक हस्तक्षेपमा परे। जनताले आफ्नो संस्कृति गुमाउँदै गएको महसुस गर्न थालेका छन् ।

आजको आन्दोलनः जनताको पुनः पुकार
नेपालमा हालको परिवर्तनप्रति असन्तुष्टि झनै बढ्दो छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (च्एए) लगायत नागरिक समाज र विभिन्न हिन्दू संगठनहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रमा फर्काउने माग गर्दै आन्दोलन चलाइरहेका छन् ।
२०८२ साल जेठ ७ गते (२०२५ मे २९) देखि हुने भनिएको निर्णायक आन्दोलन यसैको निरन्तरता हो । यो आन्दोलन कुनै राजनीतिक स्वार्थ वा शक्ति प्राप्तिको लागि होइन, बरु जनताको धर्म, संस्कृति, इतिहास र पहिचानको पुनःस्थापनाका लागि हो ।

भारतको भूमिकाः विगतको गल्तीको प्रायश्चित
नेपालमा राजसंस्थाको अन्त्य र हिन्दू राष्ट्रको खारेजमा भारतको केही राजनीतिक दलहरूको भूमिका रह्यो भन्ने आम धारणा छ। विशेषतः भारतीय कांग्रेस पार्टी र तिनका नेताहरूले नेपालको धर्म र राजसंस्थामा प्रत्यक्ष–परोक्ष हस्तक्षेप गरेको प्रसंग चर्चित छ ।
तर आज भारतमा भारतीय जनता पार्टीको राष्ट्रवादी र हिन्दूवादी सरकार छ। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं हिन्दू धर्मप्रति समर्पित नेताका रूपमा चिनिन्छन् । भारत अब विगतका गल्तीहरू सुधार्ने र नेपालमा सनातन धर्म, हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा स्पष्ट वैचारिक समर्थन दिने ऐतिहासिक अवसरमा छ ।

किन चाहिन्छ नेपालमा हिन्दू राष्ट्र र राजसंस्था?
१. सांस्कृतिक पहिचानको रक्षा – धर्मनिरपेक्षताका नाममा संस्कृति मेटिँदैछ। पहिचान जोगाउन हिन्दू राष्ट्र आवश्यक छ ।
२. धार्मिक–नैतिक शासन – सनातन धर्म प्रशासनमा नैतिकता, सहिष्णुता र धर्मपरायणता ल्याउँछ ।
३. धार्मिक पर्यटनको विस्तार – हिन्दू राष्ट्रले नेपाललाई विश्वका करोडौं हिन्दूहरूको तीर्थस्थल बनाउँछ ।
४. राजा राष्ट्रको प्रतीक – संवैधानिक राजतन्त्रले जनताको भावना, परम्परा र राष्ट्रिय एकतालाई संरक्षण गर्छ ।

नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना राजनीतिक भन्दा पनि सांस्कृतिक, ऐतिहासिक र आत्मिक विषय हो । यो जनताको भावना, विश्वास र भविष्यसँग जोडिएको विषय हो। भारतले पनि यो परिवर्तनलाई सकारात्मक रूपमा हेर्नु पर्छ, र कम्तीमा वैचारिक तथा कूटनीतिक समर्थन जनाउनु आवश्यक छ । जनताको यो आन्दोलन विगतमा फर्किने प्रयास होइन, बरु उज्ज्वल भविष्य निर्माण गर्ने संकल्प हो । यो समय राष्ट्र र धर्मको लागि एकजुट भएर पुनःस्थापनाको अभियानलाई सफल बनाउने हो ।