लायन्स क्लब – जसलाई पूर्ण रूपमा लायन्स क्लब्स अन्र्तराष्ट्रिय भनिन्छ – विश्वकै सबैभन्दा ठूलो सेवाभावी संस्था हो, जुन मानवता, करुणा र समुदायप्रतिको प्रतिबद्धता मार्फत कार्य गर्छ। विश्वभर ४८,००० भन्दा बढी क्लबहरू र १.४ मिलियनभन्दा बढी सदस्यहरूको सञ्जाल भएको यस संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण, युवाशक्ति र प्राकृतिक विपद्मा सहयोगको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
तर, प्रश्न उठ्छ – “म लायन्स क्लबको सदस्य किन बन्ने?“ वा “म लायन्स सदस्य भएर के पाउँछु ? “सोधिने यो सामान्य प्रश्न हो, जसको उत्तर गहिरो छ । यो केवल समाज सेवा गर्ने संस्था मात्रै होइन, यो एक जीवनशैली हो, जसले व्यक्तिलाई समाजप्रतिको उत्तरदायित्व बोध गराउँदै व्यक्तिगत विकासको मार्ग पनि खोल्छ।
☞ सेवा – एक उच्चतम उद्देश्य
लायन्स क्लबको मूल मन्त्र नै हो – “We Serve” (हामी सेवा गर्छौं) ।
लायन्ससदस्य बनेपछि तपाईंलाई समाजका विभिन्न तहमा सेवा गर्ने अवसर प्राप्त हुन्छः
दृष्टिविहीन तथा दृष्टि कमजोर भएका व्यक्तिको उपचारमा साथ दिनु, गरिब तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सहयोग, रक्तदान, स्वास्थ्य शिविर, आँखा जाँच, क्यान्सर परीक्षण लगायतका स्वास्थ्य कार्यक्रमहरूमा सहभागिता, वातावरण संरक्षण र वृक्षरोपण कार्यक्रमहरू, विपद् व्यवस्थापन तथा राहत वितरण कार्य, यी सेवाहरूमा सक्रिय सहभागी भएर तपाईंले साँचो मानवताको अनुभूति गर्नुहुनेछ।
☞ व्यक्तिगत विकास र नेतृत्व क्षमता
लायन्स क्लब केवल सेवा गर्ने थलो मात्र होइन, यो व्यक्तित्व विकासको उत्कृष्ट मञ्च पनि होः
नेतृत्व विकासः विभिन्न जिम्मेवारी सम्हाल्दै तपाईं नेतृत्व कला सिक्न सक्नुहुन्छ – क्लब स्तरदेखि अन्तर्राष्ट्रिय तहसम्म ।
सार्वजनिक वक्तृत्व क्षमताः सभा, मिटिङ र सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा बोल्ने शैली, आत्मविश्वास र प्रभावशाली प्रस्तुती कला विकास हुन्छ ।
व्यवस्थापन सीपः आयोजन, कार्यक्रम व्यवस्थापन र समूह सञ्चालनका थुप्रै व्यावहारिक सीपहरू सिक्न पाइन्छ ।
☞ नेटवर्किङ र मित्रता
लायन्स क्लब अन्तर्राष्ट्रिय स्तरको संस्था भएकाले यहाँ तपाईंले विभिन्न क्षेत्रका मानिसहरू (व्यवसायी, समाजसेवी, पेशागत व्यक्तित्वहरू) सँग चिनजान, विचार आदान–प्रदान र सहकार्यको अवसर पाउनुहुन्छ।
यस्तो नेटवर्किङले व्यक्तिगत र व्यवसायिक क्षेत्रमा सहयोगी भूमिका खेल्न सक्छ साथै अन्तर्राष्ट्रिय स्तरको सम्पर्क र अवसर ल्याउन सक्छ र साँचो अर्थमा “विश्व नागरिक“ बन्ने आत्मीयता दिन्छ ।
☞ आत्मसन्तुष्टि र प्रेरणा
सेवा गर्दा पाउने “Thank you“ को सानो शब्दले पनि आत्मालाई यति शान्ति दिन्छ कि त्यसको तुलना कुनै धन–दौलतसँग गर्न सकिँदैन।
असहायलाई साथ, पीडितलाई हिम्मत, बिपन्नलाई आशा दिन सक्नु – यिनै नै साँचो जीवनका उपलब्धिहरू हुन्।
☞ युवा पुस्तालाई प्रेरणा दिनु
लायन्स क्लबका युथ कार्यक्रमहरू लिओ क्लब मार्फत तपाईंले युवालाई समाज सेवामा सक्रिय गराउन सक्नुहुन्छ। यसले हाम्रो भावी पुस्तामा नैतिकता, जिम्मेवारी र सहकार्यको भावना विकास गराउँछ। लायन्स क्लबको सदस्य हुनु भनेको केवल परिचय वा उपाधि लिनु होइन। यो समाजलाई दिने प्रतिवद्धता, आफ्नो आत्मा र विचारलाई ठूलो बनाउने प्रयास, र एक उद्देश्यपूर्ण जीवनतर्फको यात्रा हो।
यदि तपाईं मनदेखि सेवा गर्न चाहनुहुन्छ, यदि तपाईं चाहनुहुन्छ कि तपाईंको जीवनले अरुको जीवनमा परिवर्तन ल्याओस्, र यदि तपाईं एक जिम्मेवार नागरिक बन्न चाहनुहुन्छ भने – लायन्स क्लब तपाईंको लागि उत्कृष्ट थलो हो ।
“हामी सेवा गर्छौं“ भन्ने सोचलाई आत्मसात् गर्नुहोस् – अनि तपाईंसँग संसार परिवर्तन गर्ने सामथ्र्य हुनेछ । आऔं लायन्स क्लबसंग जोडिएर एक सेवाभावी यात्राको सुरुवात गरौं ।-लेखक, लायन्स क्लब अफ नेपाल जार्नालिष्टका चार्टर प्रसिडेण्ट हुन ।
“लायन्स क्लब केवल सेवा गर्ने थलो मात्र होइन, यो व्यक्तित्व विकासको उत्कृष्ट मञ्च पनि हो “
Add Comment