Home » Sample Page » मधेश आन्दोलनः परिवर्तनको शृङ्खला र युवा पुस्तामा यसको प्रभाव
विचार-अन्तर्वार्ता

मधेश आन्दोलनः परिवर्तनको शृङ्खला र युवा पुस्तामा यसको प्रभाव

मधेश आन्दोलन नेपाली राजनीतिमा एक ऐतिहासिक मोडका रूपमा उभिएको छ। यो आन्दोलन केवल कुनै एक क्षेत्रको अधिकारको माग मात्र थिएन, यो आन्दोलन राज्यबाट लामो समयसम्म उपेक्षित गरिएको समुदायको पहिचान, सम्मान र समानताको लागि गरिएको संगठित आवाज थियो। विशेषतः २०६३ र २०६४ सालकाे आन्दोलनहरूले मधेशका जनताको जीवनमा गहिरो प्रभाव पार्यो, जसको प्रभाव आजको युवा पुस्तासम्म स्पष्ट रूपमा देखिन्छ।

मधेश आन्दोलनपछिका वर्षहरूमा मधेशी समुदायको राजनीतिक उपस्थिति र पहिचानमा उल्लेखनीय वृद्धि भएको छ। आन्दोलनले संघीयता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, भाषिक अधिकार लगायतका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। संविधान २०७२ मा यिनै विषयहरूलाई कुनै हदसम्म समेटिएको पाइन्छ, यद्यपि अझै पनि धेरै मागहरू अधुरा छन्। राजनीतिक जगतमा मधेशी उपस्थिति, आत्मसम्मान र पहिचानको पुनर्जागरण जरूरी देखिन्छ । यस आन्दोलनपछि मधेशी जनतामा आफ्नो भाषा, संस्कृति, भेषभूषा, परम्परा र ऐतिहासिक पृष्ठभूमिप्रति गर्व गर्न थालिएको देखिन्छ। “दोस्रो दर्जाको नागरिक” भनी गरिएको व्यवहार विरुद्ध आवाज उठ्न थालेपछि एक प्रकारको सामाजिक आत्मबोध विस्तार भएको छ।

युवा पुस्तामा आन्दोलनको असर र प्रभाव प्रत्यक्ष रूपमा परेकाे सजिलै अनुभव गर्न सकिन्छ । मधेश आन्दोलनको सबैभन्दा गहिरो प्रभाव मधेशका युवाहरूमा परेको छ। आन्दोलनमा प्रत्यक्ष सहभागी भएकाहरू मात्र होइन, त्यसको सन्देश र भावना ग्रहण गर्ने आजका किशोर–किशोरीहरू पनि आज राजनीतिक रूपले धेरै सचेत र अधिकारप्रति सजग भएका छन्। मधेशका धेरै युवाहरू अहिले राजनीतिक दल, नागरिक समाज र स्वतन्त्र अभियन्ताका रूपमा उदाएका छन्। उनीहरू वैकल्पिक राजनीति, न्यायपूर्ण नीति निर्माण र समावेशी राज्य संरचनाका पक्षमा आवाज उठाइरहेका छन्। वर्तमान अवस्थामा मधेशका युवाहरूमा शिक्षाको महत्वबारे चेतना तीव्र रूपमा फैलिएको छ। आरक्षण र समान अवसरप्रति आग्रह सहित धेरै युवाहरू प्रतिस्पर्धात्मक क्षेत्रमा प्रवेश गरिरहेका छन्। प्रविधि र सामाजिक सञ्जालको उपयोग पनि गरिरहेका छन , केहि विकृतिहरू नभएकाे पक्कै पनि हाेईन ।

फेसबुक, युट्युब, टिकटक लगायतका माध्यम प्रयोग गर्दै मधेशी युवाहरूले आफ्नो विचार, असन्तोष र अभियानलाई विश्वसामु प्रस्तुत गरिरहेका छन्। यो प्रविधिमैत्री सक्रियता सामाजिक रूपान्तरणमा सघाउ पु¥याइरहेको छ। मधेश आन्दोलनले अनेक आशाहरूको जन्म गरायो, तर सोचेअनुसारका उपलब्धि नआउँदा केही युवा निराश पनि छन्। राज्य प्रणाली र राजनीतिक नेतृत्वप्रति विश्वास गुमाउनेहरूमध्ये कतिपय देश बाहिरको रोजगारी वा वैकल्पिक आन्दोलनको बाटोमा छन्। मधेश आन्दोलनले नेपाली राजनीतिमा शक्ति सन्तुलनको नयाँ आधार निर्माण गर्यो।

यसले मधेशी समुदायको आत्मसम्मान, पहिचान र सहभागितालाई नयाँ उचाइमा पुर्यायो। तर, आन्दोलनको स्थायी उपलब्धि त्यतिबेला मात्र सुनिश्चित हुनेछ, जब यसको मूल भावना र मर्म युवा पुस्ताको चेतनामा जीवित रहन्छ र उनीहरू नेतृत्वको अग्रपङ्क्तिमा सक्रिय रहन्छन्। मधेशको भविष्यको रूपरेखा लेख्न सक्ने सामर्थ्य आजको युवामा छ — शर्त यति मात्रै हो, उनीहरूले आन्दोलनको आत्मालाई आत्मसात गरेर निरन्तरता दिन सकून्।