नेपालमा बदलिँदो राजनीतिक समीकरणले जनताको अपेक्षा केवल सरकार परिवर्तनसम्म सीमित नभई शासन प्रणालीको गुणस्तरीय रूपान्तरणतर्फ केन्द्रित भएको स्पष्ट देखिन्छ । विगतका अनुभवहरूले जनतालाई एउटा कुरा राम्रोसँग सिकाएको छ—राजनीतिक गठबन्धन फेरिँदैमा नागरिकको दैनिक जीवनमा परिवर्तन स्वतः आउँदैन । त्यसका लागि राज्यका संरचना, सेवा प्रणाली र कार्यशैलीमा आमूल सुधार आवश्यक हुन्छ । आजको नेपाली समाजले खोजेको कुरा ठूला नारा वा आदर्श मात्र होइन, बरु व्यवहारिक सुधार, सहज सेवा र न्यायपूर्ण प्रशासन हो ।
सबैभन्दा पहिला, आम नागरिकको आधारभूत आवश्यकता के हो भन्ने प्रश्नलाई राज्यले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ । नेपालको ठूलो जनसंख्या अझै पनि मध्यम तथा निम्न वर्गमा पर्दछ, जसका लागि दैनिक जीवन सहज बनाउने सेवा नै सबैभन्दा ठूलो राजनीति हो । शिक्षामा पहुँच, स्वास्थ्यमा सुरक्षा, रोजगारीका अवसर र सरकारी सेवामा सहजता—यी चार स्तम्भ बलियो नभएसम्म कुनै पनि राजनीतिक समीकरण सफल मान्न सकिँदैन ।
शिक्षा क्षेत्रलाई हेर्ने हो भने, यो केवल ज्ञान आर्जनको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको प्रमुख आधार हो । तर नेपालमा अझै पनि गुणस्तरीय शिक्षामा पहुँच असमान छ । निजी र सरकारी विद्यालयबीचको खाडल दिनानुदिन बढिरहेको छ । निम्न वर्गका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अवसरबाट वञ्चित हुनु दीर्घकालीन रूपमा राष्ट्रकै क्षति हो । त्यसैले सरकारले शिक्षामा अधिकतम सहुलियत दिनु आवश्यक छ । निःशुल्क वा सहुलियतपूर्ण शिक्षा, छात्रवृत्ति विस्तार, ग्रामीण क्षेत्रमा गुणस्तरीय विद्यालयको स्थापना र शिक्षकहरूको क्षमता अभिवृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिनुपर्छ । उच्च शिक्षामा पनि समान पहुँच सुनिश्चित गर्दै, विदेश पलायन हुने प्रवृत्तिलाई कम गर्ने वातावरण सिर्जना गर्नु अत्यन्त आवश्यक छ ।
स्वास्थ्य सेवा अर्को महत्वपूर्ण क्षेत्र हो जहाँ सुधारको अत्यन्त खाँचो छ । सामान्य नागरिकका लागि स्वास्थ्य उपचार अझै पनि महँगो र जटिल छ । सरकारी अस्पतालमा भीड, उपकरणको अभाव र सेवा गुणस्तरको कमीले गर्दा धेरै नागरिक निजी अस्पतालतर्फ धकेलिन्छन्, जसले उनीहरूलाई आर्थिक रूपमा झन् कमजोर बनाउँछ । सरकारले सबैका लागि सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । प्रत्येक स्थानीय तहमा सुदृढ स्वास्थ्य केन्द्र, आवश्यक औषधिको उपलब्धता, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था र आपतकालीन सेवाको विस्तार गर्नु अनिवार्य छ । स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउँदै यसको पहुँच गाउँ–गाउँसम्म पु¥याउनुपर्छ ।
अब सरकारी सेवा प्रवाहतर्फ ध्यान दिन आवश्यक छ । आज पनि नागरिकले सामान्य कामका लागि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता छ । यातायात कार्यालयमा लाइसेन्स लिन होस्, विमानस्थलमा सेवा लिन होस्, पासपोर्ट बनाउन होस् वा मालपोत कार्यालयमा जग्गा सम्बन्धी काम गर्न—हरेक ठाउँमा झन्झट, ढिलासुस्ती र अनावश्यक प्रक्रिया देखिन्छ । नगरपालिका र वडा कार्यालयमा समेत साधारण सेवा लिन घण्टौँ कुर्नुपर्ने अवस्था छ । सिडिओ कार्यालय र सुरक्षा निकायसँग सम्बन्धित सेवा पनि सर्वसाधारणका लागि सहज छैनन् ।
यी समस्याहरूको मूल कारण व्यवस्थापनको कमजोरी मात्र नभई प्रणालीगत विकृति पनि हो । मध्यम र निम्न वर्गका नागरिकले बिना कुनै चिनजान वा पहुँच आफ्नो काम समयमै गराउन सक्ने अवस्था अझै बनेको छैन । नियमअनुसार काम गराउन खोज्दा पनि अनावश्यक अवरोध खडा गरिन्छ, जसले नागरिकलाई निराश बनाउँछ ।
यसै सन्दर्भमा सबैभन्दा गम्भीर समस्या घुसखोरी प्रणाली हा े। तल्लो तहदेखि माथिल्लो तहसम्म फैलिएको भ्रष्टाचारले राज्यप्रति जनविश्वास कमजोर बनाएको छ । धेरैजसो अवस्थामा काम छिटो गराउन वा सहज बनाउन घुस दिनुपर्ने बाध्यता सिर्जना गरिएको छ । यो केवल आर्थिक अपराध मात्र होइन, यो सामाजिक अन्याय पनि हो, जसले गरीब र कमजोर वर्गलाई झन् पछाडि पार्छ । धनी वा पहुँच भएका व्यक्तिले सजिलै सेवा पाउँदा, सामान्य नागरिकले दुःख भोग्नुपर्छ—यो अवस्था लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो ।
त्यसैले वर्तमान सरकारले सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्छ । कानुनी कारबाही मात्र पर्याप्त हुँदैन, प्रणालीमै सुधार आवश्यक छ । पारदर्शिता, जवाफदेहिता र डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज बनाउन सकिन्छ । अनलाइन प्रणालीको विस्तारले सेवामा पारदर्शिता ल्याउने मात्र होइन, मानव सम्पर्क घटाएर घुसखोरीको सम्भावना पनि कम गर्न सक्छ । उदाहरणका लागि, पासपोर्ट, लाइसेन्स, कर तिर्ने प्रक्रिया, जग्गा दर्ता जस्ता सेवाहरू पूर्ण रूपमा डिजिटल बनाइएमा नागरिकलाई धेरै सहज हुनेछ ।
साथै, कर्मचारीतन्त्रमा सुधार आवश्यक छ। सेवा दिने निकायमा कार्यरत कर्मचारीहरूको व्यवहार, दक्षता र जिम्मेवारीबोधले नै राज्यको छवि निर्धारण गर्छ । सेवा लिन आउने नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कार विकास गरिनुपर्छ । कर्मचारीलाई उत्तरदायी बनाउने, राम्रो काम गर्नेहरूलाई प्रोत्साहन र गलत गर्नेहरूलाई दण्डित गर्ने स्पष्ट प्रणाली हुनुपर्छ ।
राजनीतिक नेतृत्वले पनि आफ्नो भूमिका स्पष्ट रूपमा बुझ्न आवश्यक छ । सरकार परिवर्तन मात्र गरेर जनताको विश्वास जित्न सकिँदैन । नीति निर्माण र कार्यान्वयनमा इमान्दारिता, दीर्घकालीन सोच र जनमुखी दृष्टिकोण आवश्यक हुन्छ । दलहरूबीचको गठबन्धन केवल सत्ता बाँडफाँडका लागि होइन, जनताको हितमा ठोस काम गर्नका लागि हुनुपर्छ ।
यससँगै नागरिक सचेतना पनि महत्वपूर्ण पक्ष हो । नागरिक स्वयंले पनि भ्रष्टाचारलाई अस्वीकार गर्ने, आफ्नो अधिकारप्रति सचेत रहने र गलत कार्यविरुद्ध आवाज उठाउने संस्कार विकास गर्नुपर्छ । राज्य र नागरिकबीचको सहकार्यबाट मात्र सुशासन सम्भव हुन्छ ।
अन्ततः, नेपालमा बदलिँदो राजनीतिक समीकरणले यदि जनताको जीवनस्तर सुधार गर्न सकेन भने त्यसको कुनै अर्थ रहँदैन । शिक्षामा सहुलियत, स्वास्थ्यमा सहजता, सरकारी सेवामा सरलता र भ्रष्टाचारमुक्त प्रणाली—यी चार आधार पूरा नगरी कुनै पनि राजनीतिक परिवर्तन सफल हुन सक्दैन । वर्तमान सरकारका लागि यो केवल चुनौती मात्र होइन, अवसर पनि हो—जनताको विश्वास पुनः जित्ने अवसर । यदि सरकारले समयमै यी विषयहरूमा ध्यान दिएर प्रभावकारी कदम चाल्न सकेमा नेपालमा वास्तविक परिवर्तन सम्भव छ । अन्यथा, राजनीतिक फेरबदल केवल कागजी सीमामा सीमित रहनेछ र जनताको निराशा झन् गहिरिँदै जानेछ ।








Add Comment