पर्वत, साउन २ — पर्वतको कुश्मा नगरपालिका–९, एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २:३० बजे कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टर चालक २८ वर्षीय सुजन नेपाली र १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए। दुवै जनाको उपचारका क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment