काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ।
साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीलाई बिहीबार पक्राउ गरिएको हो। उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) अपराध सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोले केसीमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
वेदिका केसी आफूलाई धर्मभित्र रहेका गलत अभ्यास र विकृतिविरुद्ध आवाज उठाउने अभियन्ताका रूपमा परिचित गराउँदै आएकी छन्। पछिल्लो समय उनी सामाजिक सञ्जाल र सार्वजनिक बहसका कारण चर्चामा थिइन्।
यस प्रकरणमा कथावाचिका राधिका दासीले वेदिका केसीविरुद्ध उजुरी दिएको बताइएको छ। यद्यपि, उजुरीका विषयवस्तु र आरोपको विस्तृत विवरणबारे प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
प्रहरीले अनुसन्धान पूरा भएपछि थप तथ्य सार्वजनिक गरिने जनाएको छ।








Add Comment