Uncategorized शिक्षा

डा. गोविन्द केसी पुनः अनशनमा, सरकारसँग ५ बुँदे माग कार्यान्वयनको दबाब

काठमाडौँ — वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारले आफूले उठाएका माग पूरा नगरेको भन्दै बिहीबारदेखि पुनः अनशनमा बसेका छन्। डा. केसी धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा बिहीबार अपराह्नदेखि अनशनमा बसेका हुन्।

उनले सरकारलाई साउन ५ भित्र आफ्ना ५ बुँदे माग पूरा गर्न अल्टिमेटम दिएका थिए। माग सम्बोधन नभएपछि उनी अनशनमा बसेका हुन्। उनले चिकित्सा शिक्षा आयोग, दशरथ चन्द विश्वविद्यालयलगायतका निकायमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका छन्।

साथै, आवश्यक मापदण्ड पूरा नगरेका निजी मेडिकल कलेजमा सिट संख्या वृद्धि गर्ने प्रस्ताव अघि नबढाउन र चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने उनको माग छ।

यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत प्रदान गरिने छात्रवृत्तिमा कटौती नगर्न तथा विगतका अनशनका क्रममा सरकारसँग भएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।