समाचार

सभापति थापालाई बुझाईयो जरा अभियान ललितपुरको प्रतिवेदन 

ललितपुर । नेपाली कांग्रेस ललितपुरको पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको नेतृत्वमा केन्द्रीय सदस्य मनकुमारी गुरुङ र महासमिति सदस्य रिता ढकाल दवाडीलाई नेपाली कांग्रेस ललितपुर जिल्लामा खटाइएको थियो।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति तथा नगर कार्यसमितिअन्तर्गत रहेका ७१ वडामा क्रियाशील सदस्य अध्यावधिकलाई व्यवस्थित गर्न खटिएका प्रतिनिधिहरू पटक–पटक ललितपुर जिल्ला पुगेर जरा अभियानबारे संवाद तथा अभियानको अपरिहार्यताबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए। त्यसपछि सिंगो ललितपुर कांग्रेस उत्साही भएको केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले बताएका छन्।

उक्त क्रियाशील सदस्य अध्यावधिक प्रतिवेदन बुझाउन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले साउन १० गतेभित्र बुझाउन गरेको सर्कुलरअनुसार केसी नेतृत्वको प्रतिनिधिमण्डलले साउन ८ गते पार्टी कार्यालयमा एक समारोहबीच पार्टी सभापति गगनकुमार थापालाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा ललितपुर कांग्रेसको सांगठनिक प्रतिवेदन, सहभागीहरूले अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेका विचार, जिल्लाको वस्तुस्थिति तथा डिजिटल अध्यावधिकको चार्टसमेत समावेश गरिएको केन्द्रीय प्रतिनिधि मनकुमारी गुरुङले बताएकी छन्। ललितपुर जिल्लाको क्रियाशील सदस्य अध्यावधिक प्रतिवेदन बुझ्दै केन्द्रीय सभापति गगनकुमार थापाले प्रतिवेदन व्यवस्थित ढंगले र समयमै बुझाएकोमा धन्यवाद व्यक्त गरेको कुरा केन्द्रीय प्रतिनिधि रिता ढकाल दवाडीले बताइन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिअन्तर्गतका ७१ वटै वडा सभापति तथा वडा प्रतिनिधिहरूलाई केन्द्रीय प्रतिनिधिहरूले कांग्रेसको केन्द्रीय नीति र जरा अभियानबारे प्रशिक्षण दिएका थिए। मुलुकको राजनीतिक अवस्था र भावी रणनीतिबारे कांग्रेसले खेल्नुपर्ने भूमिकाका विषयमा जिल्ला कार्यसमिति ललितपुरले पटक–पटक आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरा, केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि राजेन्द्रकुमार केसी, केन्द्रीय प्रतिनिधि मनकुमारी गुरुङ, केन्द्रीय प्रतिनिधि रिता ढकाल दवाडी, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य धना खतिवडा, बागमती प्रदेशका माननीय एवं पूर्वमन्त्री मिनकृष्ण महर्जन, बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला कमिटीका पदाधिकारी एवं महासमिति सदस्य तथा प्रदेश सभापतिहरूले जरा अभियानलाई सशक्त बनाउन उल्लेखनीय भूमिका खेलेका थिए।

जरा अभियानअन्तर्गत रहेका ७१ वटा वडामा ८,९१४ जना क्रियाशील सदस्यले अध्यावधिक गराएका छन्। पुराना १४,८६१ क्रियाशील सदस्यको नवीकरणमध्ये धेरै नाम दोहोरिएको, केहीले पार्टी छाडेका, कर्मचारी तथा शिक्षकहरूको नवीकरण नगरिएको र केहीको मृत्यु भएको कारण समग्रमा ६० प्रतिशत सदस्य डिजिटल कांग्रेसभित्र सहभागी भएको केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला केन्द्रीय प्रतिनिधि राजेन्द्रकुमार केसीले बताए।