काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षभित्र ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ले पार्टीको वर्तमान राजनीतिक दिशा परिवर्तन गर्नुपर्ने माग गर्दै ‘राजनीतिक रोड करेक्सन’ को एजेण्डा अगाडि सारेको छ । इतर पक्षमा लागेका महाअभियानका संयोजक शंकर भण्डारीद्वारा जारी विज्ञप्तिमा पार्टीले आफ्नो मौलिक सिद्धान्त र राष्ट्रियताको जग छोडेका कारण संकटमा परेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कांग्रेसले आफ्नो मौलिक विशेषता गुमाएको र वामपन्थी भाषाको घेराबन्दीमा परेको आरोप लगाइएको छ । १२ बुँदे समझदारी यता पार्टीले अवलम्बन गरेका नीतिहरूले जनताको भावना समेट्न नसकेको र कांग्रेस कम्युनिस्ट दलहरूको ‘अस्वाभाविक निकटता’ मा फसेको दाबी गरिएको छ । नेतृत्वको अक्षमताका कारण पार्टी विभाजनको संघारमा पुगेको र १५ औँ महाधिवेशन समेत समयमा हुन नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।
महाअभियानले बीपी कोइराला, सुवर्ण शमशेर र गणेशमान सिंह जस्ता संस्थापक नेताहरूको मार्ग पछ्याउनुपर्नेमा जोड दिएको छ। विज्ञप्ति अनुसार, सबैको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै नेपाललाई ‘सनातन हिन्दूराष्ट्र’ स्थापना गर्नुपर्ने माग गरिएको छ । यस अन्तर्गत बुद्ध, जैन, किराँत र लिम्बु सहितको ‘ॐकार परिवार’ को भावनालाई कदर गरिनुपर्ने उल्लेख छ । हिन्दूराष्ट्र स्थापनाले मात्र राष्ट्रियता बलियो हुने महाअभियानको निष्कर्ष छ ।
विज्ञप्तिमा नेपालको राष्ट्रिय सुरक्षा र अखण्डताका लागि संवैधानिक राजसंस्थाको अपरिहार्यता औँल्याइएको छ । नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको वंशपरम्पराको राजसंस्था भएको भए विगतका कतिपय दुःखद घटनाहरू ९जेठ १९ को घटना लगायत० नहुने र देशले मानवीय एवं भौतिक विनाश व्यहोर्नु नपर्ने दाबी गरिएको छ ।
वर्तमान संघीयता, धर्मनिरपेक्षता र निर्वाचन प्रणालीले मुलुकलाई दिशाहीन बनाएको भन्दै महाअभियानले यसमा पुनर्विचार गर्न माग गरेको छ । संयोजक भण्डारीले पार्टीका कार्यकर्ता र नेताहरूलाई दलीय स्वार्थभन्दा माथि उठेर ‘राष्ट्र बचाउ, धर्म जोगाऔँ’ भन्ने संकल्पका साथ बृहत् राजनीतिक सहमति निर्माण गर्न र संवैधानिक राजसंस्था पुनस्स्थापनाका लागि एकजुट हुन अपिल गरेका छन् । यो प्रतिवेदन तयार गर्न लोकेश ढकालको प्रमुख भूमिका रहेको छ ।








Add Comment