स्पोर्ट-मनोरञ्जन

सान्तोसका लागि नेयमारको दुई गोल, खेल २–२ को बराबरीमा सकियो

काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेयमारले सान्तोसका लागि दुई गोल गरेका छन्। ब्राजिलियन सिरी ए अन्तर्गत चापेकोएन्सेविरुद्ध भएको खेलमा नेयमारले टोलीका दुवै गोल गरे पनि सान्तोसले २–२ को बराबरीमा चित्त बुझाउनुपरेको छ।

घरेलु मैदानमा भएको खेलमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्दै दुई पटक गोलजाल चुमाए। तर टोलीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो।

केही दिनअघि पोकर प्रतियोगितामा सहभागी भएको विषयलाई लिएर आलोचनामा परेका नेयमारले यस खेलमा दुई गोल गर्दै सशक्त पुनरागमन गरेका छन्। गोल गरेपछि उनले कार्ड बाँड्ने शैलीमा विशेष उत्सवसमेत मनाएका थिए।

बराबरीसँगै सान्तोसले एक अंक जोडेको छ भने नेयमारको उत्कृष्ट प्रदर्शनले समर्थकमाझ सकारात्मक प्रतिक्रिया पाएको छ।