काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीन कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।
डीन कार्यालयले जारी गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएको घटनाले परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेकाले यस विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ।
गत साउन ८ गते एमबीए प्रथम सत्रअन्तर्गत एमजीटी (MGT) विषयको प्रश्नपत्र परीक्षा चलिरहेका बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनाबारे छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।







Add Comment