काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएका घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, सद्भाव र संयमता कायम राख्न सबैसँग आग्रह गरेका छन्।
सम्बोधनमा उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरे। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको उनले बताए।
प्रधानमन्त्री शाहले घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे। शान्ति सुरक्षा कायम गर्न प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिएको पनि उनले बताए।
उनले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, अफवाह र उत्तेजनात्मक सामग्रीको पछि नलाग्न आग्रह गर्दै सरकारी निकायबाट आउने आधिकारिक सूचनामै विश्वास गर्न सबैलाई अनुरोध गरे।
प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार बाँच्ने अधिकार दिएको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने बताए। एउटा घटनालाई आधार बनाएर कुनै समुदायमाथि आरोप लगाउने वा प्रतिशोधको भावना फैलाउने कार्यले सामाजिक सद्भाव बिगार्ने उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा उनले आम नागरिक, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरे।








Add Comment