ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । ललितपुरको जावलाखेलस्थित सुशासन केन्द्रमा बसेको बैठकले नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बीच आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग आवश्यक समन्वय गरी समर्थन प्राप्त गर्ने पूर्ण जिम्मेवारी दलका नेता एवं बागमतीका प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सुम्पिएको छ । यस प्रक्रियामा केन्द्रीय नेतृत्वसँग समेत समन्वय गरी लिखित तथा मौखिक संवाद अगाडि बढाइने निर्णय भएको छ ।
बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ७९ वर्षको उमेरमा ललितपुरको हेलिओस अस्पतालमा उपचारका क्रममा साउन १२ गते भएको उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै संसदीय दलले दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
यसैगरी, कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्ज र कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछि देशका विभिन्न भागमा उत्पन्न तनावपूर्ण स्थितिप्रति कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ । आपसी विवादका क्रममा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दलले सबै पक्षलाई धैर्य र संयम अपनाउन तथा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ ।
संसदीय दलले समस्या समाधानका लागि संवादमा केन्द्रित हुन आग्रह गर्दै स्थिति थप बिग्रन नदिन र शान्ति सुरक्षा कायम गर्न बागमती प्रदेश सरकारलाई संघीय सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्न अनुरोध समेत गरेको छ ।








Add Comment