काठमाडौं । सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले सम्पूर्ण नेपालीलाई संयमित रहन, सहिष्णुता अपनाउन तथा आपसी सद्भाव कायम राख्न विशेष आग्रह गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी ‘सद्भाव सन्देश’मा सुनसरी क्षेत्रमा भएको द्वन्द्वका कारण जनधनमा क्षति पुगेको र त्यसको प्रभाव कोशी प्रदेशसहित तराईका अन्य भागसम्म फैलिएकोप्रति दुःख व्यक्त गरिएको छ । यस्ता घटनाले समाजमा अस्थिरता र अशान्ति निम्त्याउने भन्दै उनले तत्काल शान्ति र समझदारी कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएकाले यही विविधता नै राष्ट्रिय पहिचान र गौरवको आधार भएको उल्लेख गरिएको छ । यस प्रकारको विविधतामा कुनै पनि प्रकारको खलल पुग्नु राष्ट्रकै लागि हानिकारक हुने भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
पूर्वराजा शाहले नेपाली समाजको दीर्घकालीन परम्परा आपसी मेलमिलाप, सहअस्तित्व र सहिष्णुतामा आधारित रहेको स्मरण गराउँदै पछिल्ला घटनाहरूले त्यस मूल्यमान्यतालाई चुनौती दिएको बताएका छन् । “यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो, त्यसैले जहाँसुकै रहेका नेपालीहरूबीच एकता र समझदारी आवश्यक छ,” सन्देशमा उल्लेख गरिएको छ ।
उनले सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने प्रयासप्रति पनि चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् । देशभर शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्नु नै अहिलेको प्रमुख आवश्यकता भएको उनले स्पष्ट पारेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले आफू राजा हुँदाको हैसियतमा जसरी नै सन्देश जारी गरेका छन् ।








Add Comment