समाचार

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन नेपाल पत्रकार महासंघको अपिल

काठमाडौं । नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। विशेषगरी सुनसरी जिल्लासहित तराईका केही क्षेत्रमा भएको घटनामा तीन जनाको ज्यान गएकोप्रति महासंघले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

महासंघले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै विविधताबीचको एकता नै राष्ट्रिय बल भएको स्पष्ट पारेको छ। तर सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनापछि विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाले सामाजिक सद्भावमा असर पर्न सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ। यस्तो अवस्थामा जनधनको सुरक्षा र शान्तिपूर्ण वातावरण निर्माण गर्नु राज्य र सबै नागरिकको साझा दायित्व रहेको उल्लेख गरिएको छ।

महासंघले सबै पक्षलाई अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सामग्रीबाट टाढा रहन आग्रह गर्दै कुनै पनि असहमति वा विवादको समाधान हिंसाबाट नभई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक विधिबाट गर्नुपर्नेमा जोड दिएको छ।

यस्तै, संवेदनशील अवस्थामा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अझ जिम्मेवार, तथ्यपरक र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै महासंघले पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा पेशागत दायित्व निर्वाह गर्न आग्रह गरेको छ। साथै प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारमाध्यमलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गरिएको छ।

महासंघले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। साथै धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न संवाद, समन्वय र विश्वास निर्माणका पहलहरू तत्काल अघि बढाउन पनि आग्रह गरिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्दा मानवअधिकारको सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्नुपर्नेमा समेत महासंघले जोड दिएको छ।