इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाउँदै निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु शनिबार बिहान ५:३० बजेदेखि हटाइएको हो। प्रशासनले अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेसम्म निषेधाज्ञा लागू रहने जनाएको छ।
निषेधाज्ञा अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न रोक लगाइएको छ। प्रशासनका अनुसार शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको हो।
प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लंघन गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ को महेन्द्र राजमार्ग आसपासको क्षेत्र, रामधुनी नगरपालिका–१ र २ को राजमार्ग क्षेत्र तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा लागू गरिएको प्रशासनले जनाएको छ।








Add Comment